काठमाडौँ –काठमाडौँमा आयोजित ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका केन्द्रीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्दर यादवले जलवायु परिवर्तनको खतरासँग जुझिरहेको हिमाली क्षेत्रको गम्भीर अवस्थामाथि प्रकाश पारे।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल विषयमा आयोजित संवादमा मन्त्री यादवले हिमाली क्षेत्रको वातावरणीय संकटको प्रभाव भारतमा पनि गहिरो रूपमा महसुस भइरहेको बताए। “हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार छ। भारतमा पनि हामीले यी असरहरू प्रत्यक्ष अनुभव गरिरहेका छौं,” उनले भने।
मन्त्री यादवले भारतको हिमाली राज्यहरू र त्यहाँका समुदायहरूको चिन्तालाई भारतले साझा गर्ने उल्लेख गर्दै हिमालय र मानवताको भविष्य एक–अर्कासँग गहिरो रूपमा जोडिएको बताए। “हाम्रो वातावरणीय भविष्य अभिन्न रूपमा आपसमा गाँसिएको छ,” उनले जोड दिए।
भारतको जलवायु नीतिको बारेमा बोल्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले विश्वव्यापी जलवायु कार्यमा सशक्त र गहिरो भूमिका निर्वाह गरिरहेको बताए। “संकटमा हाम्रो न्यूनतम भूमिका हुँदाहुँदै पनि भारत जलवायु कार्यमा अग्रसर छ र योगदान पुर्याउन पूर्णरूपमा प्रतिबद्ध छ,” मन्त्री यादवले स्पष्ट पारे।
सगरमाथा संवाद नेपाल सरकारद्वारा आयोजित एक उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्च हो, जसले जलवायु परिवर्तन र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणमा केन्द्रित क्षेत्रीय तथा वैश्विक बहसलाई अगाडि बढाउने उद्देश्य राखेको छ। भारतीय मन्त्रीको सम्बोधनले भारत–नेपाल सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।