काठमाडौँ— भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली प्रणाली संरक्षणका लागि विश्वव्यापी सहकार्यको आह्वान गरेका छन् ।
आज नेपालमा आयोजित पहिलो सगरमाथा संवादको उद्घाटन सत्रमा भारतको प्रतिनिधित्व गर्दै उनले सो आह्वना गरेका हुन् ।
“जलवायु परिवर्तन, हिमालहरू र मानवताको भविष्य” भन्ने मुख्य विषयवस्तुमा आधारित यस उच्चस्तरीय अन्तर्राष्ट्रिय संवादमा विभिन्न देशका मन्त्रीहरू, जलवायु विज्ञहरू तथा नेताहरूको सहभागिता रहेको थियो।
सम्बोधनको क्रममा मन्त्री यादवले भारतको जलवायु परिवर्तनविरुद्धको अटल प्रतिबद्धता दोहोर्याउँदै हिमालय र अन्य पर्वतीय पारिस्थितिक प्रणालीहरूको संरक्षणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याए ।
दक्षिण एशिया विश्वको जम्मा ४ प्रतिशत ऐतिहासिक कार्बन उत्सर्जनका लागि जिम्मेवार भए पनि यहाँको करिब २५ प्रतिशत जनसंख्या जलवायु संकटको सबैभन्दा ठूलो मारमा परेको उनले उल्लेख गरे । उनले विकसित राष्ट्रहरूले जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा क्षमताविकासमा गरेका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने माग गरे।
मन्त्री यादवले उच्च भूउचाइका क्षेत्रहरूमा रहेको जैविक विविधताको महत्वलाई रेखांकन गर्दै सीमा पार संरक्षण प्रयासहरू सुदृढ गर्न आह्वान गरे । उनले इन्टरनेशनल बिग क्याट्स एलायन्स अन्तर्गत हिमचितुवा, बाघ र चिताजस्ता वन्यजन्तुको संरक्षणमा साझा प्रयास आवश्यक रहेको राय प्रस्तुत गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको प्रोजेक्ट स्नो लेपर्ड अन्तर्गत भारतले सन् २०१९ देखि २०२३ सम्म सञ्चालन गरेको पहिलो हिमचितुवा गणना अनुसार देशमा ७१८ वटा हिमचितुवा रहेको तथ्य प्रस्तुत गर्दै उनले यो संख्या विश्वको करिब १०–१५ प्रतिशत बराबर रहेको जानकारी दिए ।
यादवले मुख्यतयाः पाँच बुँदे विश्वव्यापी कार्ययोजना प्रस्तुत गरे । जसअन्र्तगत वैज्ञानिक सहकार्य विस्तार, जलवायु सहनशील पूर्वाधार निर्माण, हिमाली समुदायहरूको सशक्तीकरण, हरित वित्त सुनिश्चितता, र पर्वतीय विषयहरूलाई अन्तर्राष्ट्रिय जलवायु छलफलमा समावेश गर्नुपर्ने आवश्यकता समेटिएको थियो। उनले स्थानिय समुदायहरूको परम्परागत ज्ञान तथा जीवनशैलीलाई जलवायु नीतिमा समावेश गरिनु आवश्यक रहेकोमा जोड दिए ।
अन्त्यमा नेपाल र अन्य हिमाली राष्ट्रहरूसँग मिलेर साझा पारिस्थितिक सम्पदाको संरक्षणमा भारत तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै उनले सारा विश्व एउटै परिवार हो भन्ने भावना अनुरूप, पवित्र हिमालहरूलाई आशा र दिगोपनको प्रतीकका रूपमा जोगाइ राख्नुपने धारणा व्यक्त गरे ।