काठमाडौँ– हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा हिमताल फुटेर आएको बाढीका कारण १८ घरपरिवार समस्यामा परेको भन्दै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद लामाले तत्काल सो स्थानबाट निरिक्षण गर्दै हेलिकप्टरबाट भएपनि उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
हिमाली क्षेत्रको हिमताल खतरनाक अवस्थामा पुगेको भन्दै उनले उक्त घटनालाइ गम्भीर रुपमा लिदै रोकथामका लागि पहल सुरु गर्नुपर्ने धारणा राखे । सांसद लामाले ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति भएको र १८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बस्नुपरेको उल्लेख गरे ।
हिमताल फुट्दा आएको बाढिका कारण काठका पाँचवटा पुल बगाएको, सिंचाइकुलोका साथै १५ किलोवाटको विद्युत परियोजना समेत क्षतबिक्षत भएको उहाले जानकारी दिनुभयो । यहि जेठ १ गते लेदोसहितको पहिरोले हुम्लाको तिल गाउँका केहि बस्ती बगाएको थियो ।