काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानविनका लागि सरकारले बनाएको समितिको कुनै औचित्य नभएको जनाएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले पूर्व कर्मचारीको संयोजकत्वमा बनाइएको समितिको कुनै औचित्य नभएको र यसले निष्पक्ष रुपमा काम गर्न नसक्ने बताएका छन् ।
वाग्लेले गम्भीर अपराधीक विषयलाई सरकारले कर्मकाण्डीमा टुङ्गाउन खोजेको भन्दै खेद व्यक्त गरे । ‘यति गम्भीर आपराधिक, राजनीति कुशासनसँग सम्बन्धित विषयलाई उहाँले पूरै कर्मचारीतन्त्रीय ढंगले, कमैकाण्डी ढंगले सम्बोधन गर्ने जुन प्रस्ताव राख्नुभो, हामीलाई खेद छ ।’ उनले भने, ‘आज टेबल ठटाएर बाँकी सांसदहरुले के के न उपलब्धी ठानेर स्वीकार गर्नुभयो, तर, राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भए पनि बेवकुफ छैन ।’
उनले सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागीमाथि पनि प्रश्न उठाएका छन् । विगत १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्रका रुपमा परिचित बैरागी सक्षम निकायहरूको राडारमा रहेको उनले बताए ।
उनले भने, ‘विश्वस्त सूत्रहरुबाट थाहा भए अनुसार सक्षम निकायले राडारमा राखेको छ यी पात्रहरुलाई । पूर्वकर्मचारीले अध्यक्षता गरेको समिति न न्यायिक हो, न संसदीय हो, न निष्पक्ष हो । न उच्चस्तरीय नै हो ।’
उनले भिजिट भिसा प्रकरणको छानविनका लागि जाँचबुझ आयोग ऐन २०२६ अनुसार बहालवाला वा पूर्वन्यायधीशको अध्यक्षतामा न्यायीक छानविन समिति गठन हुनुपर्ने रास्वपाको माग यथावत रहेको स्पष्ट पारे । उनले थपे, ‘यति गम्भीर विषयमा टालटुल समिति बनाएर फासफुस गर्ने रणनीतिमा यो सरकार गएको छ । फेरि दोहोर्याउँछु, राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ ट, जोशिलो छ तर बेवकुफ छैन ।’
सरकारले भिजिट भिसा प्रकरणमा मुछिएकालाई जोगाउने खराब नियतका साथ समिति गठन गरेकाले रास्वपालाई स्वीकार्य नहुने उनको भनाइ छ ।