कास्की – देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।