अदानचुली (हुम्ला) – यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराका कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन् ।
बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन् ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन् । खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो । बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन् । करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।
स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ । काठमाडौँबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ ।
एक सातापछि प्रदेश सरकारको राहत सामग्री
हिमपहिराबाट विस्थापितलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामग्री पठाएको छ । आज प्रदेश सरकारले राहत सामग्री पठाएको हो ।
दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँका २१ परिवारका ३३ जना विस्थापित भएका हुन् । हिमपहिराका कारण मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ ।
प्रदेश सरकारले आज पाँच सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेससेटलगायत राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । हिमपहिराले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।
रेडक्रस सोसाइटीले पनि आज राहत पुर्याएको छ । सोसाइटीको हुम्ला शाखाले प्रत्येक विस्थापित परिवारलाई एक÷एक थान त्रिपाल, एकरएक थान कम्बल र एकरएक थान म्याट्रेस पुर्याएर वितरण गरिएको शाखाका अध्यक्ष गणेश महतले बताए । आधार विकास नेपाल नामक संस्थाले अन्य खाद्यान्न, औषधिलगायत सहयोग गरेको छ ।