मुस्ताङ – नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन्। यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् ।


ADVERTISEMENT


नेपाल र अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउने उद्देश्यले राजदुत थम्पसनले मुस्ताङको भ्रमण गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्ने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबारदेखि सुरु हुने तिजी पर्वको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले आज वारागुङ मुक्तिक्षेत्र–२ झोङस्थित गुम्बाको अवलोकन गरे । एएफसीपीबाट जीर्णोद्वार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको उल्लेख गरे । जीर्णोद्वारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उनको भनाइ थियो ।

मुस्ताङमा एएफसीपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ । राजदूत थम्पसनले आज भ्रमण गरेको झोङ गुम्बा, गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा (घर गुम्बा) तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्नेअमेरिकी दूतावासले जनाएको छ । रासस