काठमाडौं – समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् । पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् । त्यो हो, ईभी अर्थात् इलेक्ट्रिक भेइकल ।


ADVERTISEMENT


सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै केही वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू एकै क्षेत्र तर फरक किसिमको व्यवसाय अर्थात् ईभीमा लगानी गरिरहेका छन् । राम्रो प्रतिफल र बचतका कारण व्यवसायीहरू त्यसबाट सन्तुष्ट देखिन्छन् भने ऋण लिएर व्यवसाय गर्नेहरूबाट समयमै किस्ता आउँदा बैंकहरु समेत खुसी देखिन्छन् ।


ADVERTISEMENT

# # #


कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैङ्कहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैङ्किङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् ।
तर राज्यले कहिले कर नीतिमा परिवर्तन त कहिले बैंकबाट प्रवाह हुने लोनको सीमा अर्थात् लोन टु भ्यालु रेसियोमा परिवर्तन गरिरहँदा व्यवसायी र बैंक नै मर्कामा पर्ने गरेका छन् ।

किस्ता तिर्न सहजता

हरेक मान्छेले आफैँसँग पैसा भएर मात्रै लगानी गरिरहेका हुँदैनन् । आफ्नो व्यावसायिक योजनालाई सार्थक बनाउन साथीभाइ, आफन्त र बैंकसँग समेत कर्जा लिइरहेका हुन्छन् । निश्चित समयपछि कर्जा तिर्नुपर्ने भएका कारण सुरु गरेको व्यवसायबाट प्रतिफल आएन भने त्यसले समस्या सिर्जना गर्दछ । जस कारण राम्रो प्रतिफल पाउने, किस्ता तिर्न सहज हुने मात्र नभएर आफ्नो घर खर्च समेत चलाएर थप व्यवसाय विस्तार गर्न समेत मान्छेले ऋण लिइरहेका हुन्छन् । पछिल्ला वर्षहरू ईभीमा लगानी त्यस्तै सार्थक व्यवसायको एक माध्यम बनेको छ । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ ।

आफूहरूसँग धेरै व्यवसायीहरूले व्यावसायिक कर्जा निकालेर ईभीमा लगानी गरेको र किस्ताका लागि कुनै समस्या नभएको नुवाकोटको बट्टार शाखामा कार्यरत एनएमबी बैंकका ब्रान्च म्यानेजर जीवन बोगटी बताउँछन् । व्यवसायीबाट राम्रो प्रतिफल प्राप्त गरेका कारणले नै कतिपय व्यवसायीहरूले समय अगावै किस्ता र कर्जा चुक्ता गर्न सकेको उनको धारणा रहेको छ ।

बोगटी भन्छन्, ‘हाम्रो बैंकबाट ऋण लिएर धेरैले ईभीमा लगानी गर्नुभएको छ । उहाँहरूको कुरा अनुसार रिटर्न राम्रै रहेको बुझिन्छ । त्यही भएर होला हामीले ईभीमा लगानी गर्ने कुनै व्यवसायीले कर्जा र किस्ता तिरेन भन्ने गुनासो गर्नुपरेको छैन, किस्ता किन आएन भनेर कसैलाई फोन गर्नुपरेको छैन ।’

त्यसो त ईभीमा धेरै बैंक तथा वित्तीय संस्थाहरूको लगानी रहेको छ । जसमध्ये ईभीमा लगानी गर्नेमा एनएमबी बैंक पनि एक हो । ऋण लिएर ईभीमा लगानी गर्नेहरूबाट किस्ता तिर्न समस्या परेको भन्ने आफूहरूले सुन्न नपरेको उनको दाबी छ ।

‘ईभीमा धेरै वटा बैङ्कहरूको लगानी छ । त्यसमध्ये हाम्रो बट्टार ब्रान्चबाट ऋण लिएर लगानी गर्नेहरूमा त्यस्तो लोनको किस्ता नआउने समस्या देखिएको छैन,’ उनले भने, ‘कतिपयले ईभीलाई नै मुख्य व्यवसाय बनाउनुभएको छ भने कतिपयले त्यसलाई साइड बिजनेस बनाउनुभएको छ । तर उहाँहरूले समयमै किस्ता तिर्ने लगायत सहजै किस्ता पाइरहेका छौँ ।’

त्यति मात्र नभएर कतिपय व्यवसायीहरुले समय अगावै किस्ता तिर्ने गरेको समेत उनको अनुभव रहेको छ ।

ईभीप्रति आकर्षण बढ्यो, बैंकहरुले लगानी बढाए

कतिपय व्यक्तिहरू रहर त कतिपय व्यक्तिहरू बाध्यताले यातायात व्यवसायमा लगानी गरिरहेका हुन्छन् । धेरैजसो व्यक्तिहरू अरूले लगानी गरेको क्षेत्रमा समेत राम्रो मुनाफा कमाउने उद्देश्यले समेत लगानी गरिरहेका हुन्छन् । त्यस्तै पछिल्ला वर्षहरूमा ईभीप्रति आम सर्वसाधारणको आकर्षण बढिरहेको र व्यवसायीहरू समेत आकर्षित बनेका छन् । एकातिर पहिल्यै सो क्षेत्रमा लगानी गरेकाहरू आफ्नो अब डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीसाधनमा सिफ्ट भएका छन् । त्यसबाहेक नयाँ लगानीकर्ताले पनि ईभीमा आफ्नो लगानी सुरु गरेका छन् ।

एनएमबी बैंकका ब्राञ्ज म्यानेजर बोगटी अगाडि भन्छन्, ‘पहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गरेकाहरूले पछिल्ला वर्षहरूमा ईभीमा लगानी बढाएका धेरै उदाहरण छन् । व्यवसायीले स्वाभाविकै रूपमा केही हुन्छ कि भन्ने हुटहुटीमा लागेर लगानी गर्ने हो । त्यस कारणले पनि लगानीकर्ताहरू उत्साहित देखेको छु । हामी बैंकहरुले पनि कुनै व्यवसाय धराशायी बन्छ वा बन्न सक्छ भनेपछि लगानी गर्दैनौँ र व्यवसायीहरू पनि त्यसप्रति उत्साहित हुँदैनन् नि । त्यस कारण पनि ईभीमा भविष्य देखेर लगानी गरिरहेका छौँ र व्यवसायीहरू पनि उत्साहित देखिनुभएको छ ।’

लगानीकर्ता भन्छन्, ‘किस्ता तिर्न कुनै समस्या छैन’

विद्युतीय यातायातका क्षेत्रमा लगानी गर्नेहरू कोही व्यवसायी बन्न त कोही स्वरोजगारका रूपमा लगानी गरिरहेका छन् । हरेक व्यवसायीको सोच धेरै भन्दा धेरै नाफा होस् भन्ने नै हुन्छ । त्यस कारण पनि उनीहरूले फरक फरक क्षेत्रमा लगानी बढाइरहेका हुन्छन् ।
बैंकबाट ऋण लिएर सार्वजनिक यातायातका रूपमा ईभीमा लगानी गरेका नुवाकोटका श्रीराम खतिवडा ईभी गाडीबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । सुरुमा लगानी धेरै गर्नुपरेको भए पनि अन्य खर्च नहुँदा घर खर्च चलाउन, बैंकको किस्ता र ब्याज तिर्न कुनै समस्या नभएको उनले बताए ।

खतिवडा भन्छन्, ‘ईभी गाडीमा सुरुमा लगानीचाहिँ धेरै नै गर्नुपर्छ । तर धेरै लगानी गरे पनि अन्य खर्च नहुने भएकाले किस्ता र ब्याज तिर्नचाहिँ कुनै समस्या छैन । हामीले बैंकको किस्ता र ब्याज तिरेर पनि मासिक ७०/८० हजार बचत गरिरहेका छौँ । यसरी नै तिर्दै जाने हो भने ५ वर्षमा गाडीसमेत आफ्नो हुन्छ भने घर खर्च पनि राम्रोसँग चलिरहेको हुन्छ । ’

बैंकबाटै ऋण लिएर स्वरोजगार व्यवसायी बनेका धादिङका जीवन श्रेष्ठ पनि ईभी गाडीको आम्दानी राम्रो भएको बताउँछन् । सोही प्रकृतिको अन्य गाडी किन्दा पनि मूल्य उस्तै पर्ने तर डिजेल वा पेट्रोलमा खर्च धेरै हुने भएकाले बचत नहुने श्रेष्ठले बताए । पहिले इन्धनबाट चल्ने सार्वजनिक सवारीको धनी रहेका श्रेष्ठले विगत डेढ वर्षदेखि ईभीमा लगानी गरेको र डेढ वर्षको अवधिमा झन्डै ३५ प्रतिशत सावाँ र ब्याज घटाइसकेको बताए ।

जीवन भन्छन्, ‘ईभी गाडी कति वर्षसम्म चल्छ भनेर अहिले नै भन्न सकिँदैन । तर अहिलेका लागि ईभी गाडी वरदान जस्तै भएको छ । इन्धनमा खर्च नहुने, मर्मतमा खर्च नहुने भएकाले आम्दानी जति सबै बचत नै हुन्छ । यसरी नै कमाई भए आफूले गरेको लगानीसमेत फिर्ता भई गाडी आफ्नो बनाउन ५ वर्ष पनि लाग्दैन । तर त्यसपछि मर्मतमा समस्या आएन भने सबै कमाई आफ्नै हुने भएकाले भविष्य राम्रो नै देख्छु ।’