दमौली (तनहुँ) – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशालाई आशामा बदल्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताए ।
पार्टी विधानबमोजिम अगाडि बढ्न नसकेको बताउँदै नेता कोइरालाले पार्टीलाई विधानबमोजिम हिँडाउने अभियानमा आफू लागिपरेको जिकिर गरे । उनले भने, “पार्टी विधानबमोजिम चलेको छैन। भ्रातृ संस्थाको अधिवेशन समयमै भएका छैनन् । पार्टीको महाधिवेशन पनि निर्धारित मितिमै हुन्छ कि हुँदैन भन्ने आशङ्का छ ।”
पार्टीलाई विधानबमोजिम अगाडि बढाउन सकेमात्रै नेता तथा कार्यकर्ता उत्साहित हुने बताउँदै नेता कोइरालाले विसं २०८३ मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताए। त्यसका लागि देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचार अन्त्य र सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउँदै सरकारले त्यसमा निमर्मतापूर्वक काम गर्नुपर्ने डा कोइरालाले बताए । उनले भने, “भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको छ । जबसम्म यो सुध्रिदैन देश विकास हुन सक्दैन ।” दैलेखमा ग्यास भेटिएको खबरले सकारात्मक सञ्चार प्रवाह गरेको भन्दै कोइरालाले त्यसको सही सदुपयोग हुनुपर्ने बताए ।
नेता कोइरालाले देशको हरेक परिवर्तनमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहँदै आएको बताए । पार्टीले प्रजातन्त्र सेनानीका योगदानलाई कहिल्यै नबिर्सने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टाचार अन्त्यका लागि पार्टीले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान विरोधी तत्वलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले पार्टीका हरेक तहमा सेनानीलाई आरक्षणको व्यवस्था हुनुपर्ने बताए ।
कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई सम्मान गरिएको थियो ।