काठमाडौँ– राइड सेयरिङ तथा सेल्फ ड्राइभ सवारी सञ्चालन सम्बन्धी गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौँको माइतीघर–बानेश्वर सडकखण्डमा विरोध प्रदर्शन गरेका छन्।
व्यवसायीहरूले निजी दुईपांग्रे तथा चारपांग्रे सवारी साधनलाई सार्वजनिक यातायात सरह यात्रु ओसार्न अनुमति दिँदा आफ्ना लगानीमा प्रतिकूल असर परेको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेका हुन्। सोही सन्दर्भमा शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारिएको थियो भने आइतबार काठमाडौँमा प्रदर्शन गरिएको हो।
प्रदर्शनका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडक खण्डमा यातायात अवरुद्ध भएको थियो। उस्तैगरी नक्शाल–भाटभटेनी क्षेत्रमा राजावादी समूहद्वारा आयोजित अर्को प्रदर्शनले काठमाडौँ उपत्यकाको यातायात व्यवस्था झन् अस्तव्यस्त बनाएको थियो।
सार्वजनिक यातायात व्यवसायीहरूले सरकारले लगानी सुरक्षामा ध्यान नदिएको आरोप लगाउँदै राइड सेयरिङप्रति कडा असहमति जनाएका छन्। उनीहरूले सरकारले चाँडै समाधान नगरेमा आन्दोलन अझ कडा बनाउने चेतावनीसमेत दिएका छन्।