काठमाडौं– संघीय निजामती सेवा विधेयकमा संशोधन र सुधारको माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा धर्ना तथा घेराउ कार्यक्रम गरेको छ।
युनियनले विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै ६ बुँदे सुझावसहित देउवालाई ज्ञापनपत्र बुझाएको छ।
युनियनका सचिव झविन्द्र पोखरेलका अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा विधेयक पेश हुने कार्यसूची रहेको सन्दर्भमा युनियनले कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएको हो। युनियनले विधेयकका अपूरा तथा कर्मचारी हितविरुद्धका प्रावधान हटाउन माग गर्दै पार्टी नेतृत्वसँग छलफल थालिएको जनाएको छ।
सभापति देउवाले युनियन प्रतिनिधिहरूसँगको भेटमा निजामती कर्मचारीहरूले उठाएका सरोकारहरू गम्भीर रूपमा लिइने आश्वासन दिएका छन्। साथै उनले संसदको कार्यसूचीमा विधेयक परेकाले अब सत्तारूढ र विपक्षी दलहरूबीच छलफल गरी ‘फूल हाउस’ बाट आवश्यक सुधारका विषय समेटिने बताएका छन्।
युनियनले यदि विधेयकमा कर्मचारीहित विपरीतका प्रावधान सच्याइनेनन् भने व्यापक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
यी हुन् युनियनका प्रमुख एजेण्डा
– अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने
– ५८ वर्षबाट ६० वर्ष बनाउँदा क्रमश ६ महिना एक वर्ष र दुई वर्ष गरेर गर्नुपर्ने
– एकपटकलाई अन्तर प्रदेश सरुवा खुला गरी आगामी दिनमा सोलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशले जनसङ्ख्याको आधारमा आफ्नो आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गर्नुपर्ने
– १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने
– उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने
– निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने ।