काठमाडौँ– सर्वोच्च शिखर सगरमाथाको काखमा फैलिएको पवित्र दुधकुण्डबाट सुरु भएको जीवन यात्राले अहिले शेर्पा समुदायको सर्वोच्च नेतृत्वतर्फ पाइला टेक्दैछ — नेतृत्वको यो यात्रामा छन् ङवाङ सोनाम शेर्पा। दशकौँदेखि मौलिकता, परम्परा र अधिकारको संरक्षणमा समर्पित शेर्पा नेपाली समाजमा एक चिनिएका बौद्धिक, नीतिगत र सांस्कृतिक आवाज हुन्। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा जन्मिएका उनी आज राष्ट्रिय सीमाभन्दा पर अन्तर्राष्ट्रिय मञ्चमा समेत आदिवासी आवाजको प्रतिनिधि बनेका छन्।
शेर्पाको शैक्षिक पृष्ठभूमि बहुआयामिक छ। वाणिज्यशास्त्रमा स्नातक, कानुनमा एलएलबी, र अर्थशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर गर्दै उनले समाजका विविध तहमा गहिरो दृष्टिकोण विकास गरेका छन्। शिक्षा उनका लागि केवल डिग्री प्राप्त गर्ने साधन होइन, समाज परिवर्तनको माध्यम हो भन्ने मान्यताका साथ उनले आफ्नो ज्ञानलाई व्यवहारिक कार्यमा रूपान्तरण गर्दै आएका छन्। यही सोचले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत बहसहरूमा अग्रपंक्तिको प्रतिनिधिमा उभ्याएको हो।
शेर्पाको योगदान नेपालको सीमाभन्दा बाहिर फैलिएको छ। उनले नागोया प्रोटोकल, जैविक विविधता महासन्धि, युएनड्रिप, आईएलओ १६९, डब्लूआईपिओ लगायतका सन्धिमा सैद्धान्तिक र व्यवहारिक रूपमा योगदान दिएका छन्। पाँचपटक डब्लूआईपिओका सल्लाहकार भइसकेका उनी ५० भन्दा बढी देश भ्रमण गरी आदिवासी ज्ञान, जलवायु न्याय, र सांस्कृतिक अधिकारका विषयमा नेपाललाई विश्वमाझ प्रस्तुत गरिसकेका छन्। उनका लेख, कार्यपत्र र विचार अन्तर्राष्ट्रिय मञ्चमा बहस र नीतिगत सन्दर्भ बन्ने सामग्री बनेका छन्।
संस्थागत योगदानमा पनि उनी अग्रणी रहेका छन्। नेपाल शेर्पा विद्यार्थी मञ्च, युनाइटेड शेर्पा किदुक, मिण्ड्रोल च्याङछुप ट्रष्ट जस्ता संस्थाको संस्थापक सदस्य भएर नेतृत्व दिएका उनी नेपाल शेर्पा संघका पूर्व महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्षको रूपमा पनि कार्यरत रहिसकेका छन्। नेतृत्व, दूरदृष्टि र समर्पणको संयोजन बोकेर अब उनी नेपाल शेर्पा संघको अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्।
यो उम्मेदवारी केवल पदको लागि हैन — समृद्ध, स्वाभिमानी र अन्तर्राष्ट्रिय स्तरमा उभिएको शेर्पा समाजको सपना साकार पार्ने योजनाको भाग हो। नेतृत्वलाई मार्गको रूपमा हेर्ने, सम्बन्ध र संवादमा विश्वास राख्ने, र संघर्षसँग सहकार्यको सन्तुलन कायम गर्ने व्यक्ति हुन ङवाङ सोनाम शेर्पा। शेर्पा समुदायले आज जुन खालको उत्तरदायी, अनुभवी र दूरदर्शी नेतृत्व खोजिरहेको छ, त्यो व्यक्तित्व उनीभित्र देखिन्छ।