काठमाडौं–स्वयम्भूको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ वर्षीया सन्तोषी नेपाली भेटिइन् । उनलाई अरूका घरको धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्याइनभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ ।


ADVERTISEMENT


छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौंतारिइरहेकी सन्तोषीको सोतोजस्तो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन् । भाइबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन् । १० महिनाअघि (जेठ ५) बलात्कारपछि हत्या गरिएकी १० वर्षीया छोरी अमृताको सम्झनाले उनलाई घरीघरी झस्काइरहन्छ ।


ADVERTISEMENT

# # #


‘मुनाजस्ती थिई । सानैमा घरपरिवार र खानपिनको हेरचाह गर्थी,’ सन्तोषीले भनिन्, ‘ललितपुरको लेलेमा श्रीमान् (अशोक) ले कान्छी भित्र्याएपछि म २ छोरा र १ छोरी लिएर काठमाडौं छिरेकी हुँ, यता आएको एक वर्षजतिमा छोरी मारिई । त्यसपछि झनै एकल र अनाथ भएकी छु ।’

कस्तो थियो घटना ?

ललितपुर, टीकाभैरव गाउँमा गरिब पृष्ठभूमिमा जन्मे–हुर्केकी सन्तोषीले ५ कक्षासम्म मात्रै पढ्न पाइन् । गाउँले रीतिमा उनको १८ वर्षमै बिहे भयो । छोराछोरी र अरू पारिवारिक भार बढ्दै गयो । पारिवारिक खटपट, श्रीमान्को हप्कीदप्की र कुटपिट बेहोर्दै जीवन धानिरहेकी थिइन् । श्रीमान्ले कान्छी श्रीमती ल्याएपछि उनको जीवनको लय बिथोलियो । तीन लालाबाला चेपेर स्वयम्भूनजिकै आफ्ना दिदीभाइ डेरा बसेको ठाउँमा शरण माग्न पुगिन् । आफूले जानेको कपडा सिउने सीप र होजियारी फिनिसिङको ज्यालादारी काम गरेरै मुस्किलले जीवन गुजारा चलाइरहेका बेला जेठ ५ गते नसोचेको घटना खेप्नुपर्‍यो ।

डल्लुकै एक स्थानीय स्कुलमा कक्षा ६ मा पढिरहेकी अमृताको संसार एकदमै सानो थियो– डेरादेखि स्कुल, स्कुलदेखि डेरा । गरिबी र अभाव उस्तै । जेठ ५ गते शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलापको तालिका थियो तर उनी जान सकिनन् । किनकि, त्यसका लागि उनीसँग ‘अतिरिक्त’ ड्रेस थिएन ।

त्यसैले डेरामै टीभी हेरेर बसिरहेकी थिइन् अमृता । साँझपख उनी एकाएक ‘असहज अवस्थामा मृत भेटिएको’ खबर फैलियो ।

डल्लु, चागलमा सन्तोषीको डेरासँगैका छिमेकी थिए, मोरङ, बाहुनीका दिनेश चौधरी (विश्वराम रनपैली) । सन्तोषीको परिवारसँग दिनेशको आउजाउ र हिमचिम बढिरहेको थियो । अमृताको जीवनहरणको कारण नै यही सम्बन्ध बन्न पुग्यो । तर सत्य बाहिर आइसकेर पनि पीडित पक्षको आवाज सुरुदेखि नै दबाउन खोजिएका प्रमाण पाइएका छन् । ‘घटनास्थल प्रकृति मुचुल्का उठाउने क्रममा ७ वर्षीय कान्छो छोरासँग मात्रै सोधपुछ गरिएको मैले थाहा पाएँ,’ आमा सन्तोषीले भनिन्, ‘पोस्टमार्टम गर्ने क्रममा यौनांगसहित तल्लो पेटमा देखिएको चोट, नीलो डाम र छोरीको घाँटीमा समेत चिथोरिएको, रक्ताम्य अवस्था थियो ।’ उनले यसबारे कहींकतै लिखित जानकारी नदिइएको गुनासो गरिन् ।

‘किटानी जाहेरीमा परिसकेका व्यक्तिको फिंगर प्रिन्ट र अन्य विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको मलाई थाहा भएन । घटनाबारे झन्डै एक महिनासम्म स्वयम्भू प्रहरीले मेरो किटानी जाहेरीसमेत लिन मानेन । यो स्थितिले धेरै शंका बढाएको थियो । तर, मेरो आवाज कसैले सुनेन,’ उनले भनिन् ।

डल्लुमै टेलरिङ पेसा गर्ने चौधरी बेलाबेला आफ्नो डेरामा आउने गरेको र छोराछोरीकै सामु नराम्रो दृष्टिले आफूलाई समाउने गरेको उनले सुनाइन् । नाबालक छोरीलाई समेत अपशब्द प्रयोग गर्ने गरेको सन्तोषीको भनाइ छ । ‘घटनाको एक साताअघि मात्रै आफ्नो सुकाएको कट्टु अमृताले लुकाइदे’को भन्दै चौधरीले मेरी छोरीलाई कुटपिट गरेको थियो । त्यतिबेला मैले कडा प्रतिवाद गरेकी थिएँ,’ सन्तोषीले सुनाइन्, ‘हेर्दै जा, म तेरी छोरीलाई एकदम ठेगान लगाएर छाडदिन्छु भनेको थियो । त्यसको सात दिनमै छोरी मारिएको अवस्थामा भेटिई ।’

सन्तोषीका अनुसार चौधरीको स्वभाव केटी देख्नासाथ झम्टने खालको रहेको जानकारी उसकी ४५ वर्षीया श्रीमतीलाई समेत थियो तर उनी प्रतिवाद गर्न सक्दिनथिन् । ‘जेठ ५ गते बिहान पनि म सधैंझैं १० बजे काममा निस्किएकी थिएँ, साँझ ५ बजेतिर सानो छोरो रुँदै मैले काम गर्ने कारखानामै आयो,’ सन्तोषीले सम्झिइन्, ‘बेलुका ३ बजे स्कुलमा लिन जानुपर्नेमा अमृता गइनछ, अनि डेरामा आएर बाहिरैबाट बोलाउँदा दिदी (अमृता) नबोलेपछि छोराले अँध्यारो कोठामा दिदी नबोली घोप्टिएर बसेको देखेछ । छोराले भनेको सुनेर म कद्दै डेरा पुगेकी थिएँ ।’

सन्तोषीले छोरीलाई हातखुट्टा खुम्चिएको, झ्यालमा सलको पासो अडकाइएको र घोप्टिएको अवस्थामा ओछ्यान देखिन् । कपाल भुत्ल्याइएको जस्तो देखिन्थ्यो । बेहोस अवस्थामा भेटिएकी छोरीलाई अस्पताल लैजान चौधरी दम्पती र आसपासका छिमेकी गुहारे पनि कोही नआएको उनले बताइन् । त्यसपछि डल्लुमै बस्ने उनकी दिदीसहितको सहयोगमा वीर अस्पताल लगेकी थिइन् । अस्पताल पुर्‍याएर अक्सिजन चढाउने क्रममै डाक्टरले बच्ची अमृतालाई मृत घोषित गरेका रहेछन् ।–आजको कान्तिपुरबाट