काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।
दुई वटा गैंडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयानुसार करिब ३० महिनाको पोथी गैंडा (पुजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केहि दिनअघि मात्रै २३ महिनाको एउटा भाले गैंडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।
जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैडाको हेरचाह गर्दै आउनुभएका लाल बहादुर महतराले आफुले हुर्काएका ६ वटा गैडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा ल्याइएको बताए ।
पुजालाई यसअघि नै माइलासंगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए । यससंगै अब सदर चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ ।