काठमाडौँ – रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै झाले बिहान सभामुखसंग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसविपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन् ।
झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । ‘सभामुखले बिहान हाम्रो नेताहरुलाई बोलाएर छलफल गर्नुभएको थियो । हामीलाई बैठकका सुरुमै हाम्रा कुरा राख्न दिने भन्नुभएको थियो । तर उहाँले हामीहरुलाई धोका दिनुभयो ।’ उनले भने, सभामुखले सदनको अभिभावकत्य निर्वाह गर्दै जुन भूमिका निर्वाह गर्नुपर्ने हो, हामीले हामीलाई पेलेरै लानेजस्तो व्यवहार गर्नुभयो ।’
प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए । उनले भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिए पनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको जिकिर गरे ।
झाले नियमावलीको बिपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक बर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘उहाँले बनाएको नियम विपरित नेपाली काँग्रेसको सांसदलाई आकष्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिइयो । त्यो नियमावली अनुसार होइन ।’