घोराही (दाङ)– यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो ।


ADVERTISEMENT


यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको सामाजिक एकता, सांस्कृतिक सम्पदा र भूमि प्रतिको श्रद्धा पनि देखिने घोराही उपमहानगरपालिका–१४ का स्थानीय जुनु मगर बताउँछिन् । यो पर्व आफ्नो भाषा, संस्कृति र एकता सम्झाउने माध्यम रहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


भूमे पर्व केवल नाचगानको उत्सव होइन । मगर समुदायको संस्कृति, इतिहास र भविष्यसँग गाँसिएको भावनाको उत्सव पनि हो । मगर समुदायले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै जीवको अस्तित्वको परिकल्पना गर्न नसकिने र भूमि नै जीवन दाता भएको मान्यता उनीहरुको छ । मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आएका छन् । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् ।

यो पर्वलाई नयाँ कामको सुरुआत गर्ने दिनका रुपमा पनि लिइन्छ । सामूहिक योजना, भविष्यको सोच र सामाजिक सुदृढीकरणको मार्ग यही पर्वमा खोजिन्छ । तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढा मगरले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताए।

दाङको भूमे पर्व, अब स्थानीयस्तरबाट राष्ट्रियस्तरमा अग्रसर हुँदैछ । यस पर्वमार्फत मगर समुदायको पहिचान र परम्परा जोगाउने मात्र होइन, सामाजिक सद्भाव र सहकार्यका उदाहरण प्रस्तुत हुन थालेका छन् ।

भूमे पर्वका अवसरमा मगर समुदायका विभिन्न समूहले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाइरहेका छन् । नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताए । दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी आएका मगर समुदायको बसोबास छ ।

“पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन,” उपाध्यक्ष रोकाले भने, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।” रासस