वीरगञ्ज (पर्सा)– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् ।


ADVERTISEMENT


जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर एक सय ५१ जनालाई पक्राउ गरेको जानकारी दिए ।

‘‘लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र छ जना नेपाली महिला पक्राउ परेका छन्,’’ उनले भने, ‘‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन् ।’’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आवमा एक हजार पाँच सय ६१ किलो गाँजा पक्राउ गरेको छ । त्यस्तै ६२५ किलो चरेश बरामद गरेको छ । त्यस्तै ३८४ ग्राम खैरो हिरोइन र साढे एक किलो अफिम बरामद गरेको छ ।

त्यस्तै गरी फेनारगन एक हजार ४३३ एम्पुल, डाइजेपाम चार हजार ४९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार २७४ ट्याब्लेट बरामद गरेको छ ।