काठमाडौं–काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् ।


ADVERTISEMENT


‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र हत्या गरेको आरोपमा पक्राउ गरिएका राजदेवलाई छुटाउन रमिलाले इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका इन्चार्ज र जिल्ला अदालतसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले बन्दी र लिखित जवाफसहित बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेका थिए ।

विपक्षी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गरेपछि बसेको अदालतको इजलासले पक्राउ परेका राजदेव मण्डललाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थुनुवा पुर्जी दिई राखिएको, जिल्ला अदालतबाट म्याद थप गरिएको र अनुसन्धानका लागि मण्डललाई न्यायिक हिरासतमा राखिएको देखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने अवस्था नरहेको आदेश दिएको थियो । –आजको कान्तिपुर दैनिकबाट