काठमाडौं–लालीगुराँस नगरपालिका ८ सोल्मा कालीमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार आगलागी भएको चार दिनसम्म पनि आफ्नो ३ तोला सुनको गहना खरानीमा खोजिरहेको छ ।


ADVERTISEMENT


सम्पतीको नाममा भएको जम्मा ३ तोला सुन पनि जलेपछि यो परिवारको बिजोग भएको छ । उनीहरू खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् ।


ADVERTISEMENT

# # #


केही वर्षअघि आगलागीमा परेर सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर जोहो गरेको सम्पत्ति क्षणभरमै खरानी बनाइदिएको छ । उनीसँग अहिले एक छाक खाने अन्न र एकसरो लगाउने लुगासमेत छैन ।

‘आगोले मलाई साह्रै दुःख दियो,’ जलेको घरको तल्लो कुनामा बसेर टोलाइरहेका न्यौपानेले दुःख पोखे, ‘आगोले पटक–पटक मलाई मात्र किन दुःख दिन्छ ?’ अघिल्लो पटकको आगलागीमा परेर सम्पूर्ण सम्पत्ति जलेर विस्तारै तङ्ग्रिँदै गरेका न्यौपानेको सम्पत्तिको नाममा अहिले केही पनि छैन ।

‘शरीरमा लगाएको कपडाबाहेक अरू केही पनि वचेन,’ उनले भने । गत मंगलबार भएको आगलागीमा परी अधिकारी र न्यौपानेसहित गोविन्द अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र गुरुप्रसाद लुइँटेलको सर्वस्व गुमेको छ ।

आफ्नो नाममा २ रोपनी मात्र जग्गा रहेका लक्ष्मी अधिकारीले अर्काको खेत अधियामा रोपेर यो वर्ष ४० मुरी धान थन्क्याएका थिए । त्यो धान पनि सवै आगोमा जल्यो । ‘मैले यो पटक फलाएको धान एक दाना पनि खान पाएको थिइनँ, सबै जल्यो,’ अधिकारीले विलौना गरे ।–आजको कान्तिपुर दैनिकबाट