काठमाडौं–बढ्दो आयात मुलुकका लागि टाउको दुखाइको विषय बनेको छ । दैनिक उपभोग्य सामानको बढ्दो आयातले मुलुकको आर्थिक अवस्था दिनदिनै जीर्ण हुँदै गएको छ । यस्तो संस्कृतिको विकास गर्ने काममा विप्रेषणले सहयोगी भूमिका खेल्दै आएको छ ।


ADVERTISEMENT


राष्ट्र बैंकले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले विप्रेषण आयातको २३.९ प्रतिशत घरखर्चमा जाने गरेको देखाएको छ । गत आवमा ६ खर्ब ९५ अर्ब रुपैयाँ विप्रेषण आयात भएको थियो । बैंककोे हिसाबलाई आधार मान्दा गत वर्ष एक खर्ब ९३ विप्रेषण घरायसी काममा प्रयोग भएको देखिन्छ ।


ADVERTISEMENT

# # #


अर्कोतर्फ ऋण तिर्नका लागि विप्रेषणको २५.३ प्रतिशत खर्च भएको देखिन्छ । अनुसन्धानले नेपाल आउने विप्रेषणको एक दशमलव एक प्रतिशत उत्पादनमूलक काममा र २८ प्रतिशत बचत हुने गरेको देखाएको छ । यसको अर्थ नेपाली कामदारले पठाएको विप्रेषणको ७० प्रतिशत रकम दैनिकी चलाउने काममा खर्च हुँदै आएको छ ।

विप्रेषण आयातसँगै आयातित सामानको प्रयोगसमेत बढ्दो छ। श्रमविज्ञ गणेशमान गुरुङले विप्रेषण घर खर्च चलाउने काममा मात्र प्रयोग भएको बताए । उनले भने, ‘विप्रेषण बढे पनि यसको सही सदुपयोग हुन सकेन । उताबाट पठाएको पैसा यता बस्नेले आवश्यकताभन्दा बाहिरका सामान किनेर सके । जसले गर्दा अर्थतन्त्रलाई विप्रेषणले सोचे जति फाइदा दिन सकेन ।’

नेपालका लागि वैदेशिक रोजगार अपरिहार्यजस्तै भएको छ । तत्कालका लागि वैदेशिक रोजगारबिना नेपालको अर्थतन्त्रले नधान्ने निश्चित छ। तर वैदेशिक रोजगारबाट बढी लाभ लिने र त्यसलाई दिगो बनाउनेतर्फ राज्यको ध्यान जान सकेको छैन ।–आजको अन्नपुर्ण पोष्टबाट