काठमाडौँ – रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफूले नभनेको स्पष्ट पारेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको र प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्तिहरु चाहीँ नफर्किएको धारणा राखेको स्पष्ट पारेकी हुन् । स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले सो कार्यक्रममा विभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपालीहरु गएको उनले बताइन् ।
उनले मंगलबार आफूले संसदमा राखेको धारणालाई नबुझेर विभिन्न टिकाटिप्पणी भएकोप्रति आपत्ति जनाइन् । आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग प्रति सांसद गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको र रेकर्डबाट हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरिन् । ‘हिजो मैँले संसदमा राखेको विषयवस्तु संसदको रेकर्डबाट हटाउन माग भएको रहेछ, प्रधानमन्त्रीको सचिवालयबाट चुनौती पनि आएको रहेछ, केही माननीयज्यूहरुले बतासे, केटाकेटी पनि भन्न भ्याउनुभएको रहेछ’ उनले भनिन्, ‘मैँले केहीँ पनि प्रधानमन्त्रीसँगै स्पेन भ्रमण गएका मानिसहरु फर्किएनन् भनेकी छैन । प्रधानमन्त्री गएको कार्यक्रममा केही मानिसहरु फर्किएनन् भनेकी हुँ ।’
उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिने गरी समिति बनाएकाले आफूहरुको निरन्तर विरोध रहेको बताइन् । बैठकमा एमाले सचेतक सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैलाउने काम भएको बताइन् । उनले संसदमा हेक्का राखेर बोल्न चुनौती दिँदै भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार रहेको जवाफ दिइन् । बरालले संसदमा तथ्यका आधारमा बोल्न सुझाव दिइन् ।
आफ्ना धारणा राखेर रास्वपा सांसदहरु बाहिरिएपछि बरालले आफ्ना कुरा राख्ने तर अरुको कुरा नसुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाउइन् ।