काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को टोली काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहिसकेका मोन्टीलाई गोर्खाजले एनपीएलको दोस्रो संस्करणका लागि नियुक्त गरेको हो ।
बिहीबार सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै काठमाडौं गोर्खाजले मोन्टीलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको छ । उक्त भिडियोमा मोन्टीले एनपीएललका लागि त्रिवि क्रिकेट मैदानमा पुनः फर्किन उत्साहित रहेको बताएका छन् ।
उनले भकेका छन्, ‘केही यात्रा कहिल्यै समाप्त नहुने खालका हुन्छन् । नेपाल र नेपाली क्रिकेट आफ्नो मनमा सधैं रहिरहेको छ ।’
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बरमा हुँदैछ । जसका लागि काठमाडौँ गोर्खाजले करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।
मोन्टीले २ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०२३ को एसिया कप तथा सन् २०२४ को टी–२० विश्वकप खेलेको थियो ।
यसअघिको लिग–२ मा अप्ठ्यारो अवस्थामा रहेको नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय मान्यता जोगाएपछि मोन्टीको चौतर्फी प्रशंसा भएको थियो ।
तर, जारी संस्करणको लिग–२ मा भने नेपालले निराशाजनक प्रदर्शन गरेपछि नेपाल क्रिकेट संघले उनलाई प्रशिक्षकबाट हटाएको थियो ।