काठमाडौं–यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ ।


ADVERTISEMENT


गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ । गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक नपुगेका पुराना विद्यार्थी (एक्जाम्टेड) लाई पुरानै पाठ्क्रमअनुसार नै प्रश्न सोध्न लागिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।


ADVERTISEMENT

# # #


रेग्मीका अनुसार गत वर्षको परीक्षामा जीपीएमा १ दशमलव ६ भन्दा थोरै स्कोर आएका अधिकांश विद्यार्थी एक्जाम्टेड समूहमा सहभागी हुँदैछन् । त्यसबाहेक कुनै विषयमा उच्च ग्रेड ल्याए पनि कुनै विषयमा न्यूनतम प्राप्तांक पनि ल्याउन नसकेका विद्यार्थीसमेत यो समूहबाट परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षा चैत ८ देखि २० गतेसम्म सञ्चालन हुँदैछ । गत वर्ष एसईई चैत ३ देखि १४ गतेसम्म भएको थियो । परीक्षा नियन्त्रक रेग्मीका अनुसार यस पटक नियमित र एक्जाम्टेड समूहबाट गरी कुल ४ लाख ८७ हजार परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्ष एसईईमा ५ लाख ३८ हजार परीक्षार्थी थिए ।

कक्षा १० को पाठ्यक्रम परिवर्तन भएसँगै प्राक्टिकल गर्नुपर्ने विषय पनि थपिएका छन् । रेग्मीका अनुसार अनिवार्य ६ वटा विषयमध्ये ५ वटामा प्राक्टिकल हुनेछ । ऐच्छिक विषयमा पनि प्राक्टिकल हुन्छ । नेपालीमा पनि कुल सय पूर्णांकमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्राक्टिकल हुनेछ । ‘अब गणितमा मात्र प्राक्टिकल हुँदैन’, उनले भने ।