काठमाडौँ – नेपाल प्रहरीले मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बिहीबार भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमकाबीच एफएमको १३ औँ वार्षिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ।एम।सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक तामाङले ट्राफिक एफ.एम.का प्रथम स्टेसन म्यानेजर पूर्व प्रहरी उपरीक्षक पवन कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना ट्राफिक प्रहरी र ट्राफिक एफ.एम.का ४ जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै तामाङले ट्राफिक एफ.एम.ले ट्राफिक व्यवस्थापन, सुरक्षित सवारी आवागमन र जनचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान गर्नुका साथै कला, संस्कृति र सामाजिक सद्‍भाव जगाउने कार्य समेत गरेको बताए ।

कार्यक्रममा एफ.एम.का स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक ईन्जिनियर अमरेन्द्र प्रसाद सिंहले सम्पूर्ण अतिथिलाई स्वागत गरेका थिए ।

कार्यक्रमको विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आजको युगमा ट्राफिक एफएमले अन्य सञ्चार माध्यमभन्दा भिन्न पहिचान बनाएको र पृथक कार्य गर्दै आएकाले यसको संरक्षण र थप संबर्धन गर्नुपर्नेमा जोड दिइन् ।

विशेष अतिथि सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर के.सी.ले ट्राफिक एफएमसँगको सहकार्य सडक सुरक्षाका तथा सचेतना क्षेत्रमा लाभदायी भएको बताए ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् ट्राफिक एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपस्थित सम्पूर्ण अतिथिमा धन्यवाद ज्ञापन व्यक्त गर्दै ट्राफिक एफएमको श्रीवृद्धिका लागि सरोकारवाला निकायले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।

उउनले भने, ‘आज प्रदान गरिएका सम्मानहरू केबल व्यक्ति तथा निकायको सम्मानमा नभई ट्राफिक जनचेतना, सहकार्य र उत्तरदायित्वको सामूहिक पहिचान हो भन्ने कुरालाई हामी सबैले आत्मसात गरी अगाडि बढ्नुपछ् ।’

काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी अधिकृतहरु, जनप्रतिनिधि, यातायात संबद्ध संघ संस्था, सरोकारवाला निकायका पदाधिकारीहरु, संचारकर्मी, नगरप्रहरी, ट्राफिक एफ.एम.का श्रोता तथा ट्राफिक स्वयमसेवकहरूको सहभागिता रहेको थियो ।

त्यस्तै वार्षिकोत्सवकै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज विहान रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका थिए । ट्राफिक प्रहरी कर्मचारी, ट्राफिक एफ.एम.का श्रोता तथा सर्वसाधारण गरी ६८ जनाले रक्तदान गरेका थिए ।

वि.स.२०६८ पौष २६ गतेबाट सञ्चालनको इजाजत पाएको ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जले २०६९ जेठ २५ गतेबाट आफ्नो परिक्षण प्रसारण आरम्भ गरेको थियो । एफ.एम.ले २०६९ सालकै साउन ८ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो ।

ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा जनमानसलाई सुःसुचित गर्दै आएको यस एफएममा जनचेतनामुलक, सूचनामुलक र मनोरञ्जनात्मक लगायत विविध कार्यक्रमहरु प्रसारण हुँदै आएका छन्