काठमाडौं — सडक सुरक्षा, ट्राफिक सूचना र जनचेतनामूलक प्रसारणमा समर्पित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज ले आफ्नो १३औँ वार्षिकोत्सव काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबमा विशेष समारोहका साथ भव्यतापूर्वक सम्पन्न गरेको छ।


ADVERTISEMENT


समारोहको प्रमुख आतिथ्य काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले गरेका थिए। उनले एफएमको जनहितकारी भूमिकाको प्रशंसा गर्दै विज्ञापनदाता र सूचना सहयोगकर्ताहरूलाई कदरपत्रद्वारा सम्मान गरे।


ADVERTISEMENT

# # #


त्यस्तै, एफएमका प्रथम स्टेशन म्यानेजर एवं पूर्व प्रहरी उपरीक्षक पवन कुमार गिरी, दुईजना उत्कृष्ट ट्राफिक प्रहरी र एफएमका चार जना कर्मचारीलाई समेत प्रशंसा पत्रद्वारा सम्मानित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी तामाङले एफएमको भूमिकालाई ट्राफिक व्यवस्थापन, सुरक्षित यातायात, सामाजिक सद्भाव तथा कला–संस्कृतिको प्रवर्द्धनमा प्रेरणादायी भएको उल्लेख गरे।

एफएमका वर्तमान स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा इञ्जिनियर अमरेन्द्र प्रसाद सिंहले स्वागत मन्तव्य दिँदै अतिथिहरू तथा सहभागीहरूप्रति आभार व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ट्राफिक एफएमले सञ्चारको क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको बताउँदै यसको दिगो र सशक्तीकरण आवश्यक रहेको धारणा राखिन्।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसीले एफएमसँगको सहकार्यले सडक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण परिणाम दिएको उल्लेख गरे।

एफएम व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ट्राफिक सचेतना र उत्तरदायित्वप्रति एफएमले निभाएको भूमिकालाई अझ सशक्त बनाउन सबै सहयोगी पक्षसँग सहकार्य आवश्यक रहेको बताए। उनले प्रदान गरिएका सम्मानहरूलाई सामूहिक उत्तरदायित्वको प्रतीकको रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रहरी अधिकारी, जनप्रतिनिधि, यातायात क्षेत्रका सरोकारवाला संस्था, सञ्चारकर्मी, नगर प्रहरी, ट्राफिक स्वयंसेवक र एफएम श्रोताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिकोत्सवकै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा एसएसपी नवराज अधिकारीले स्वयं रक्तदान गर्दै उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा कुल ६८ जनाले रक्तदान गरेका थिए।

ट्राफिक एफएमले २०६८ साल पुस २६ गते प्रसारण अनुमति प्राप्त गरेको हो। २०६९ साल जेठ २५ गते परीक्षण प्रसारण सुरु गरिएको थियो भने सोही वर्षको साउन ८ गतेदेखि नियमित रूपमा कार्यक्रम प्रसारण हुँदै आएको छ। एफएमले ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा, जनचेतना, सूचना तथा मनोरञ्जनमूलक कार्यक्रमहरू निरन्तर प्रसारण गरिरहेको छ।