काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा सहिद स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीमा सभापति देउवाले अहिलेको संविधान सवैका लागि स्वीकार्य भएपनि केहि विषयमा संशोधनको कुरा उठेकाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए ।
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको उनले बताए । सभापति देउवाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा सवै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेको जिकिर गरे ।
उनले कांग्रेस सदैव प्रजातन्त्र सहितको समाजवादको पक्षमा रहेको भन्दै अझै पनि यसमा बलियो हुन बाँकी रहेको बताए । सभापति देउवाले अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले अरु दलसंग लचिलो भएर मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले संविधानलाई थप परिस्कृत गर्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।































































