काठमाडौँ — विगतमा कुख्यात गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रहरीले बिहीबार राति काठमाडौँको महाराजगञ्जस्थित होटलबाट पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बाँसबारी रोडस्थित होटल साम्बलाको आठौं तलाबाट चक्रे मिलनसहित ४८ जनालाई पक्राउ गरेको हो।
टिकटकमा भाइरल दृश्यपछि नै थिए कडा निगरानीमा
प्रहरीका अनुसार, चक्रे मिलनले सार्वजनिक सडक नियन्त्रणमा लिएको दृश्यसहितका टिकटक पोस्ट गरेका थिए, जुन सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो । त्यसपछि उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुखलाई विशेष निगरानी राख्न निर्देशन दिएका थिए।
चक्रे मिलन र उनका समर्थकले २ दिनअघि जन्मदिन पार्टी मनाउँदै विभिन्न गतिविधिहरू गरेका थिए। बिहीबार बिहान चक्रे मिलन पशुपतिनाथ मन्दिर पुगेर सहयोग मागिरहेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका थिए। त्यसपछि उनी ठमेल क्षेत्रमा पुगे जहाँ उनले र्यापरहरूसँग पार्टी गरेका थिए।
चक्रे मिलनको समर्थकहरूले पार्टीको क्रममा एकै ठाउँमा २० वटा केक काटेको प्रहरीको भनाइ छ। अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो । यो गतिविधि पछि प्रहरी टोलीलाई सूचना दिएको थियो र ठमेल क्षेत्रमा चक्रे मिलनको आगमन रोक्न तयारी गरिएको थियो।
चक्रे मिलन र उनका समर्थक दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल जाने तयारीमा थिए । त्यहाँ मुठभेडको सम्भावना देखिएपछि प्रहरीले अघि नै योजनामा रोक लगाएको थियो।
चक्रे मिलनको पृष्ठभूमि हेर्दा उनी विगतमा ठेक्कापट्टा र टेन्टर असुलीमा सक्रिय थिए, तर पछिल्लो समय उनका आपराधिक गतिविधिहरुमा कमी आएको थियो। यद्यपि, प्रहरीले उनलाई विशेष निगरानीमा राख्दै आएको थियो।
पक्राउ उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो नलागेको बताइएको छ ।
































































