काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अन्ततः पदबाट राजीनामा दिने निस्कर्षमा पुगेका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको शीर्ष नेतृत्वको दबाब र संसदीय दलभित्रको पराजयपछि उनले मुख्यमन्त्री पद तत्कालै छोड्ने निर्णय गरेका हुन्।


ADVERTISEMENT

# # #


बिहीबार साँझ काठमाडौंको बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवासँग भेटपछि लामाले पदबाट बहिर्गमनको बाटो रोज्ने तयारी गरेको बुझिएको छ। भेटमा देउवाले स्पष्ट रूपमा निर्देशन दिएपछि लामाले आफ्ना निकट सांसदहरूसँग आजबिहान सल्लाह गरेका थिए। त्यसपछि उनले राजीनामा दिने अन्तिम निस्कर्ष निकालेको सांसद तीर्थ लामाले जानकारी दिए।

सांसद लामाका अनुसार देउवाले लामा स्वयंलाई संसदीय दलको नेतामा पराजित भएको अवस्थामा पनि मुख्यमन्त्री पदमा बसिरहनु उचित नहुने भन्दै मार्गप्रशस्त गर्न भनेका थिए। “सभापतिले निर्देशन दिएपछि अब विकल्प छैन भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो,” उनले भने, “मुख्यमन्त्रीज्यू भ्याए आजै, नभ्याए भोलि हेटौँडा पुगेर  राजीनामा दिनुहुन्छ।”

गत शुक्रबार बागमती कांग्रेस संसदीय दलका २१ सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि बुधबार भएको नयाँ दल नेताको निर्वाचनमा उनी इन्द्रबहादुर बानियाँसँग पराजित भए। त्यसयता कांग्रेसको आन्तरिक राजनीति तनावमा थियो।

बानियाँले मुख्यमन्त्री बन्ने तयारी गर्दै लामामाथि राजीनामा दिन दवाब दिँदै आएका थिए। तर, लामा भने सुरुवातमा अडानमै रहेका थिए। शीर्ष नेताको हस्तक्षेपपछि उनले अन्ततः झुक्नु परेको हो।