काठमाडौं–राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।


ADVERTISEMENT


एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।


ADVERTISEMENT

# # #


तीन सदस्यले भोट हाल्न नपाउने

सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् । उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।

अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ लिएका थिए । जबकी मतदाता नामावली बुधबार नै प्रकाशित भइसकेको थियो । मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ । फागुन २२ गते नै निर्वाचक मण्डलका सदस्यहरुको अन्तिम नामावली प्रकाशित भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद छन्।