काठमाडौँ- नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापनलाई सुदृढ बनाउन संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको सहयोगमा भारतले नयाँ सहयोगी पहल सुरु गरेको छ ।
भारत सरकारको विदेश मन्त्रालयले मिति २०८२ श्रावण १६ गते नयाँ दिल्लीमा सुरु गरेको यो पहल भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको एक हिस्सा हो ।
नेपालमा यो परियोजनाले भारतको सफल सार्वजनिक वितरण प्रणाली (पीडीएस) सँग ज्ञान आदानप्रदानलाई सहज बनाएर नेपालको स्तरोन्नति गरिएको चामल आपूर्ति श्रृंखलामा विशेष गरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन र दक्ष कार्यबलमा रहेका समस्यालाई सम्बोधन गर्नेछ । यस परियोजनाले नेपालका सरोकारवालाहरुलाई कुशल खाद्य आपूर्ति श्रृंखला व्यवस्थापनको लागि डिजिटल प्रविधिहरुको उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्दछ । ध्यान दिइएका क्षेत्रहरुमा
क) लाभार्थी व्यवस्थापन
ख) भण्डारण र वितरण मोडेलहरु
ग) अनुगमन तथा मूल्याङ्कन प्रणालीहरु र
घ) गुनासो निवारण संयन्त्रहरु समावेश छन् ।
यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरण आवश्यकता मूल्याङ्कन र सरोकारवालाहरूको संलग्नतामा केन्द्रित हुनेछ । दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र विशेषज्ञहरूद्वारा संक्षेपीकरण सहित नेपाली अधिकारीहरूका लागि भारतको अध्ययन भ्रमण समावेश हुनेछ । तेस्रो तथा अन्तिम चरण कार्य योजनाको विकासमा केन्द्रित हुनेछ । यो परियोजनाको प्रशिक्षण खण्ड भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) कार्यक्रम मार्फत कार्यान्वयन गरिनेछ । सन् २००१ यता ३००० भन्दा बढी नेपाली अधिकारीहरूले यसअघि आइटेक कार्यक्रम अन्तर्गत भारतमा तालिम प्राप्त गरिसकेका छन् ।
संयुक्त राष्ट्र संघको महासभाको ७८ औं सत्रको मार्जिनमा सन् २०२३ सेप्टेम्बरमा भारत(संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहलको घोषणा गरिएको थियो । यो घोषणा पछि दिगो विकासका लक्ष्यहरू (एसडीजीज्) को उपलब्धिलाई तीव्र बनाउन दक्षिण(दक्षिण सहकार्यलाई बढावा दिने परियोजनाहरूको पहिचान र कार्यान्वयन गर्न भारतको विदेश मन्त्रालय र भारतमा रहेको संयुक्त राष्ट्र संघको टोलीले संयुक्त रूपमा काम गरे । भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत कार्यान्वयनको लागि पहिचान गरिएका चार परियोजनाहरू मध्ये विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन परियोजना एक रहेको छ ।
यो परियोजनाले भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ । यसले दक्षिण-दक्षिण सहकार्य मार्फत नवप्रवर्तनहरू साझा गर्ने र उत्थानशील खाद्य प्रणाली निर्माण गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई सुदृढ बनाउँदछ ।
































































