काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश यात्रा अघि मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमै बैठक सुरु हुनेछ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान प्रस्थान गर्न लागेका छन्। त्यसअघि आवश्यक सरकारी निर्णयहरूमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो।


ADVERTISEMENT

# # #


बैठकका लागि अधिकांश मन्त्रीहरू बालुवाटारमा उपस्थित भइसकेका छन्। यसैबीच प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै सम्बोधन गरिरहेका छन्। कार्यक्रमपछि मन्त्रिपरिषद् बैठक सुरु हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेका हुन्। उनी आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ। सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम रहेको छ।