रामचन्द्र पाण्डे, काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले हराएको छ ।


ADVERTISEMENT


बुलावायो एथलेटिक क्लबमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभर खेल्दै सबै विकेट गुमाएर १५३ रन बनाउन सक्यो । सुरुवाती ब्याट्समेन सस्तैमा समेटिएपछि हङकङले नेपालसामू सामान्य चुनौति दिएको हो । उसका लागि निजाकात खानले ४७, बाबर हायातले २० रन बनाउनु बाहेक अन्यले गतिलो खेल्न सकेनन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले मात्र १७ रन दिए । यस्तै वसन्त रेग्मी र करण केसीका नाममा समान २/२ विकेट रह्यो । यता सोमपाल कामी र ललित राजवंशीले पनि आफ्नो नाममा समान १/१ विकेट जोडे ।

यता १५४ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले सुरुवात राम्रो गरेपनि मध्यक्रम भने ध्वस्त रह्यो । पहिलो विकेटका रुपमा ओपनर अनिल कुमार शाहलाई ९.५ ओभरमा ४१ रनमा गुमाएको नेपालले त्यस पछिको २५ रन जोड्दा थप महत्वपूण चार विकेट गुमाउन पुग्यो । ३६ बलमा २६ रन बनाएका अनिलले ५ चौका प्रहार गरेका थिए ।

सँधैजसो उपकप्तान ज्ञानेन्द्र मल्ल आज पनि चल्न सकेनन् । उनी ३१ बलमा मात्र १२ रन बनाएर आउट भए । उनले एक छक्का प्रहार गरेका थिए । यस्तै कप्तान पारस खड्का ११ रनमा आउट भए । एक चौका प्रहार गरेका उनले १४ बल खेलेका थिए ।

त्यस पछि पनि नेपालको विकेट जान रोकिएन । चौथो विकेटका रुपमा आरिफ सेख व्यक्तिगत २ रनमा आउट भए । यस्तै आरिफ आउट भएको ३ रन जोड्न नपाउँदै दिपेन्द्रसिंह ऐरी पनि आउट भए । जसले गर्दा नेपालले २० ओभरमा ६६ रन बनाएर ५ विकेट गुमाइसकेको थियो ।

रोहित पौडेल र सोमपाल कामीको महत्वपूर्ण साझेदारीले नै नेपाललाई जित दिलायो । सातौँ नम्बरमा आएका सोमपाल कामीले रोहित पौडेलसंग नटआउट ८९ रनको महत्वपूर्ण साझेदारी गरे । जसले नै नेपालका लागि जित सम्भव तुल्याएको हो । रोहितले ८६ बलमा ५ चौका प्रहार गर्दै नटआउट ४८ रन बनाए । यस्तै सोमपाल कामीले पनि आज राम्रो खेले । उनले ४० बलमा ५ चौकाको मदतमा नटआउट  ३७ रन बनाए ।

यता हङकङका लागि इशान खान र अइजाज खानले समान २/२ विकेट लिए भने तानवीर अजफलका नाममा एक विकेट रह्यो ।

आजको नेपालको जितसंगै हङकङको सुपसिक्समा गएर विश्वकप खेल्ने सपनामा तुसारापात भएको छ । यस्तै नेपालको आजको जित अफगानस्तानलाई भने निकै फाइदा पुग्यो । उसले चारमा ३ खेल हारेर पनि रनरेटका आधारमा सुपसिक्समा जाने मौका पायो ।
यता नेपालको एक दिवसीय मान्यता पाउने सपना भने जीवितै भएको छ ।

समूह चरणको खेल सकिएसंगै नेपाल समूह ‘बी’का पाँच टिममध्ये चौथो भएको छ । अब नेपालले सातौँ स्थानका लागि समूह ‘ए’ को पाचौँ टिम पपुवा न्यगिनीसंग खेल्नेछ ।