काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलासमा नबस्ने निर्णय गरेका ८ न्यायाधीशहरु आजपनि आफ्नो अडान नछोड्ने भएका छन् । मंगलबार इजलामा बस्न अस्वीकार गरेका ८ न्यायाधीशका लागि प्रधानन्यायाधीशले आजपनि इजलास तोकेका छन् ।


ADVERTISEMENT


कान्तिपुर र गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दा गर्दै उनले तोकेको इजलासमा बस्न नमिल्ने राय सुनाएर हिँडेका न्यायाधीश राणालाई भने कुनै इजलास तोकेका छैनन् । आज सर्वोच्च अदालतमा जम्मा ११ वटा पेशी छन् ।


ADVERTISEMENT

# # #


एकजना न्यायाधीशले आफुले देखेका प्रमाणको आधारमा पराजुली अवकाश पाइसक्नुपर्ने व्यक्ति भनेर इजलास अस्वीकार गरेको भन्दै अरु ८ न्यायाधीशले पराजुलीले तोकेको पेशीमा इजलास नबन्ने निर्णय गरेका थिए ।

हिजो इजलास नबसेका ८ न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने भएका छन् । ‘हामीले सर्वोच्च अदालतको इजलास बहिष्कार गरेको हैन तर एकजना न्यायाधीशले नै पराजुली प्रधानन्यायाधीशबाट साउनमै अवकाश हुनुपर्ने व्यक्ति भनेर निर्णय गर्नुभएको छ। त्यसैले हामीले पनि उहाँले तोकेको इजलासमा नबस्ने भनेका हौँ,’ एक न्यायाधीशले भने, ‘आजपनि हामी आफ्नो अडानमै हुन्छौँ । उहाँले तोकेको इजलासमा बस्दैनौँ ।’

पराजुलीले तोकेको पेशीमा इजलास नबस्ने निर्णय गरेका न्यायाधीश दीपकराज जोशी र विश्वम्भर श्रेष्ठको, हरिकृष्ण कार्की र इश्वर खतिवडा, प्रकाश सिंह राउत र अनिल कुमार सिन्हा अनि आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलास छन् ।

न्यायाधीश राउत र सारदा घिमिरेको छुट्टै इजलास तोकीएको छ । राउतले हिजो झैँ पराजुलीको इजलास अस्वीकार गरेभने यो इजलास पनि आज प्रभावित हुने छ । प्रधानन्यायाधीश पराजुलीले आफ्ना लागि भने एकल इजलास तोकेका छन्।

पराजुलीले साउनमै अवकास पाउनुपर्ने प्रमाण भेटिएको भन्दै न्यायाधीश राणाले प्रधानन्यायाधीशनै नभएको व्यक्तिले तोकेको इजलासमा कानुनी र नैतिकताकै आधारमा नमिल्ने निर्णय सुनाएका थिए ।