काठमाडौं – हुंकार मधेशले संविधान संशोधन, स्वायत्त प्रदेश स्थापना, हिन्दु गणराज्य घोषणा, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेदेखि सुशासन र सामाजिक न्याय सुनिश्चित गर्नेसम्मका माग राख्दै नेपाल सरकारसमक्ष २१ बुँदे ज्ञापनपत्र बुझाएको छ।
हुंकार मधेशले २०८३ मंसिर ९ गते प्रधानमन्त्रीलाई सम्बोधन गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा मधेशी, थारु, आदिवासी जनजाति, दलितलगायत उत्पीडित जाति तथा समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारका सवाल सम्बोधन गर्न सरकारसँग माग गरिएको छ।
हुंकार मधेशले नेपालको वर्तमान संविधानले संघीय व्यवस्थालाई प्रभावकारी बनाउन नसकेको उल्लेख गर्दै संविधान संशोधनमार्फत अधिकारसम्पन्न स्वायत्त प्रदेश निर्माण गर्नुपर्ने माग गरेको छ। प्रधानमन्त्रीले जनकपुरमा निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार स्वशासित अधिकारसम्पन्न प्रदेशहरू निर्माण गर्नुपर्ने उसको माग छ।
त्यस्तै, थारु तथा मधेशी समुदायले गरेको आन्दोलनका क्रममा भएको राज्य दमन र नरसंहारबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ। आन्दोलनका क्रममा सहिद भएका परिवार तथा अंगभंग भएका आन्दोलनकारीलाई नियमित आर्थिक सहयोग उपलब्ध गराउन पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ।
हुंकार मधेशले नेपाललाई ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’का रूपमा स्थापित गर्न संविधान संशोधन गर्नुपर्ने मागसमेत अघि सारेको छ। २०६३ सालमा अन्तरिम संविधान जारी गर्दा नेपाली जनताको भावनाविपरीत धर्मनिरपेक्षता लादिएको दाबी गर्दै हिन्दु राष्ट्रको मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, समग्र थरुहट–मधेशलाई स्वायत्त प्रदेशका रूपमा स्थापना गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउनुपर्ने र राज्यका हरेक अंग तथा राजनीतिक संगठनमा महिलाको जनसंख्याको अनुपातमा समानुपातिक सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न स्वायत्त, समावेशी तथा अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ। सबै भ्रष्टाचारीलाई कडा कारबाही गर्ने कानुन तत्काल निर्माण गर्नुपर्ने तथा जातीय भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावाससम्मको सजाय हुने कठोर कानुन बनाउनुपर्ने माग गरिएको छ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन विशेष सम्बन्ध स्थापना गर्नुपर्ने हुंकार मधेशको माग छ। नेपाल–भारत सीमामा दुवै देशका नागरिकलाई सम्मानपूर्वक आवतजावत गर्ने वातावरण बनाउन, दैनिक उपभोग्य वस्तुमा करमुक्त प्रणाली लागू गर्न तथा दुवैतर्फका सवारीसाधनलाई एकअर्काको देशमा ४८ घण्टासम्म निःशुल्क आवतजावत गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
आर्थिक विकासका सवालमा नेपाललाई ‘ट्याक्स हेभन कन्ट्री’का रूपमा अघि बढाउनुपर्ने, विदेशी लगानी भित्र्याउन लगानीमैत्री कानुन निर्माण गर्नुपर्ने र हुलाकी राजमार्गलाई औद्योगिक करिडोरका रूपमा विकास गर्दै युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग राखिएको छ।
कृषि क्षेत्रको विकासका लागि किसानलाई सिँचाइ, मल, बीउबिजनलगायतका सुविधा तथा अनुदान प्रत्यक्ष उपलब्ध गराउनुपर्ने, कृषि उत्पादनलाई वैज्ञानिक र अर्गानिक बनाउनुपर्ने तथा सहकारीमार्फत व्यवस्थित कृषि प्रणाली विकास गर्ने कानुन बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
त्यस्तै, तराई–मधेशलाई मरुभूमीकरणबाट जोगाउन चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्दै वन संरक्षण, नदी नियन्त्रण र सिँचाइका लागि अधिकारसम्पन्न एकीकृत चुरे संरक्षण, नदी नियन्त्रण तथा सिँचाइ प्राधिकरण गठन गर्नुपर्ने माग गरिएको छ।
शिक्षातर्फ प्राविधिक तथा सीपमूलक शिक्षालाई गाउँगाउँसम्म पुर्याउनुपर्ने, व्यावसायिक तथा रोजगारीमूलक शिक्षा नीति लागू गर्नुपर्ने र आधारभूत तहमा मातृभाषामा पठनपाठन अनिवार्य गराउनुपर्ने माग गरिएको छ। प्राथमिक तहदेखि नै मातृभाषा, अंग्रेजी र संस्कृत भाषालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ।
बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउन नसके जीविकोपार्जनका लागि न्यूनतम भरणपोषण भत्ता उपलब्ध गराउने कानुनी व्यवस्था गर्नुपर्ने तथा सबै नेपाली नागरिकले कुनै न कुनै व्यवसाय गर्नुपर्ने कानुन निर्माण गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
हुंकार मधेशले नामबाट थर हटाउने कानुनी व्यवस्था गर्नुपर्ने विषयलाई पनि आफ्नो मागमा समेटेको छ। थर प्रणालीले जातीय विभेद र छुवाछुतलाई निरन्तरता दिएको उल्लेख गर्दै सामूहिक पहिचान कायम गर्न नामबाट थर हटाउने कानुन बनाउनुपर्ने उसको तर्क छ।
नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको आठबुँदे समझदारीसहित आदिवासी जनजाति, थारुलगायत विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ।
ज्ञापनपत्रमा हुंकार मधेशले सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिलाई आफ्नो राजनीतिक तथा सामाजिक अभियानको मूल आधारका रूपमा प्रस्तुत गरेको छ। मौलिकतावादी विचारधारा, सांस्कृतिक सापेक्षतावाद, सामुदायिक समाजवाद तथा सनातन दृष्टिकोणबाट मुलुकलाई अघि बढाउनुपर्ने उसको धारणा छ।
जातीय, सांस्कृतिक, भौगोलिक, आर्थिक तथा प्रतिनिधित्वका आधारमा कायम विभेद अन्त्य गर्दै उत्पीडित जातजाति र समुदायका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ। ज्ञापनपत्रमा उल्लेखित मागहरू सम्बोधन नभए जनता संघर्ष गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।































