राहुल गुप्ता, बारा – मधेस प्रदेशमा नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८६औँ जन्मजयन्तिको अवसरमा आयोजित ‘नेपाली कांग्रेस अन्तरसंवाद कार्यक्रम’ आयोजना गरिएको छ ।
काँगेस महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समूहको सक्रियतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई मधेस प्रदेशमा गगन समूहको अन्तरसंवाद भेलाका रुपमा समेत अर्थ्याइएको छ ।
कार्यक्रमको संचालन रिन्कु गायत्री मिश्राले गरेकी थिइन् । भेलाको अध्यक्षता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संस्थाका अध्यक्ष मधु आचार्यले गरेका थिए। प्रमुख अतिथिको रूपमा पूर्व मन्त्री सुरेन्द्र चौधरीको उपस्थिति रहेको थियो।
भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अजय बाबु सिवाकोटी, प्रतिमा गौतम, मुक्ता यादव लगायतले सम्बोधन गर्दै गगन समूहको विचार, संगठन र भावी रणनीतिबारे धारणा राखेका थिए।
कार्यक्रममा सहभागी नेताहरूले मधेसमा लोकतान्त्रिक मूल्य र युवाको सहभागिता बलियो बनाउन गगन समूहले खेलेको भूमिकाको चर्चा गरे। नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियारले गगन समूह मधेसमा अझ बलियो रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा दर्जनौं स्थानीय नेताहरू, युवाहरू, महिला तथा तल्लो तहका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गगन समूहको सक्रियता मधेसमा थप सशक्त हुँदै गएको संकेत यस भेला मार्फत देखिएको छ।



























































