काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँगेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार सर्वसत्तावादी सोचकासाथ अघि बढिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेता सिटौलाले राज्य संयन्त्रहरुले सन्तुलन गुमाउने अवस्था आएको भन्दै त्यसलाई रोक्न पार्टी भित्र बृहत्तर एकता हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार काठमाडौंमा आफू पक्षीय भेलाको आयोजना गर्दै उनले कम्युनिष्ट तानाशाही व्यवस्था ल्याउन खोजे त्यसलाई रोक्न काँग्रेस चटानी अडानका साथ हिमालझैं उभिनुपर्ने पनि बताए ।

नेता सिटौलाले मुलुकको परिवर्तनको नेतृत्व अहिले पनि काँग्रेसले लिईरहेको दावी गर्दै भोलीको नेपाललाई पनि नेतृत्व गर्नेगरी काँग्रेस एकतावद्ध हुने बेला आएको स्पष्ट पारे ।

सिटौलाले पार्टीलाई नीति र कार्यक्रमको आधारमा एकतावद्ध बनाएर मुलुकको चुनौतिलाई सामना गर्न आफू पक्षको भेला आह्वान गरिएको पनि स्पष्ट पारे । उनले पार्टी नेतृत्वकै कारण काँग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको दावी पनि गरे ।

काँग्रेस युवा नेता गगन थापाले काँग्रेसले हिनताबोध लिनुपर्ने अवस्था नरहेको दावी गरे ।

थापाले गणतन्त्र नेपालको नेतृत्व काँग्रेसले लिएको दावी गर्दै मुलुकको सबै क्षेत्रलाई जोडेर लैजाने कामको नेतृत्व अहिले पनि काँग्रेसले मात्रै गर्न सक्ने बताए । नेता थापाले काँग्रेसलाई एकतावद्ध बनाएर लैजान सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै प्रधानमन्त्री केपी ओलीबाट मुलुकको वृहत्तर एकता सम्भव नहुने दावी पनि गरे ।

भेलामा सिटौला पक्षीय नेता तथा कार्यकर्ताहरुले उल्लेख्य सहभागिता रहेको थियो ।