राष्ट्रिय जनता पार्टी(राजपा) का महासचिव तथा प्रवक्ता केशव झासंग हिमालय पोष्टले समसामयिक राजनीति लगायतका विविध विषयमा कुराकानी गरेको छ ।


ADVERTISEMENT


पछिल्लो समय राजपाले आफ्नो राजनीतिक यात्रालाई जुन रुपमा अलि फरक किसिमले अगाडि बढाइरहेको छ । केही समय अगाडि विपरित ध्रुवजस्तो देखिएको शक्तिसंग अहिले संगै सहयात्राका लागि निस्किनु भएको छ । यो कुन किसिमको वा कुन उद्देश्य प्राप्तीका लागि हो ?


ADVERTISEMENT

# # #


अब खासगरी चुनाव अघि एक प्रकारको स्थिति थियो । चुनावअघि हाम्रो अडान सुरु देखिनै संविधान बनेदेखि नै यो संविधान अपूर्ण छ । यो संविधानमा त्रुटी छ । यसलाई सच्याउनपनर्छ भनिरहेका थियौँ । त्यसका लागि ६ महिनासम्म लडेका पनि हौँ । त्यो सबै भइसकेपनि संविधान संशोधन नभएको अवस्थामा हाम्रो लागि प्रमुख मुद्दा नै संविधान संशोधन हो । अहिलेको अवस्थामा पनि हामीले भन्ने गरेको के हो भने, कि अहिलेको सरकारले संविधान संशोधन गर्छ भने हामी सहकार्य गर्न तयार छौँ भनेका थियौँ । त्यसका लागि वाम गठबन्धनले हामीसंग छलफल अगाडि बढाउनुभयो । संशोधनमा एकदमै सकारात्मक भएपछि अन्य विषयमा छलफल प्रारम्भ भएको अवस्था हो ।

तर अहिलको वाम गठबन्धनको सरकारले जुन किसिमको वचन दिएको छ । यो पनि ‘उधारो चेक’ भयो भन्ने खालको कुरा पनि उठिरहेको छ नि ?

होइन । ब्ल्याङ्क चेकको सन्दर्भमा के हुन्छ भन्दाखेरि राजनीतिक रुपमा वकिलको जस्तो गरी औठा छाप गरेजस्तो त हुँदैन । यसमा विश्वास नै गर्नुपर्छ । जति लिखित सहमती र समझदारी गरेपनि विश्वासका आधारमा नै चल्ने हो । सहमती हामीले बारम्बार गरिसकेका हौँ । संविधान बन्दा केपी ओलीले पूर्णविराम र कमा पनि संशोधन हुँदैन भन्नु भएको थियो । पछि उहाँले दर्जनौँपल्ट वार्ता गर्नुभयो । सहमती हुन खोजेपनि त्यो हुन सकेन । त्यसपछि तीनवटै चरणको चुनाव सकिएपछि छलफल गरौँला भन्नु भएको थियो । अहिले आएर उहाँले सार्वजनिक रुपमै संविधान गीता वा बाइबल जस्तो होएन । यो संशोधनीय छ भनेर भन्नु भएको छ । आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भनेर बारम्बार भनिरहनु भएको छ । त्यस कारण अहिले संविधान संशोधन गर्नमा सैद्धान्तिक सहमती भएको छ । त्यही विश्वासका आरधारमा र २ नं प्रदेशमा हामीलाई बिनासर्त समर्थन गरेका आधारमा नै हामीले अहिलेको सरकारलाई र राष्ट्रपतिलाई सहयोग गरेका हौँ ।

अब सरकारलाई जुन किसिमले तपाइले सहमती गर्नु भयो । राजपा सरकारमा सहभागी हुने पनि हल्ला चलेको थियो । तर त्यो हुन सकेन । खासमा यो के कारणले रोकिएको हो ?

सरकारमा सहभागी हुनु अघिको हाम्रो शर्त के हो भने कि संविधान संशोधनको सैद्धान्तिक सहमती हो । जुन भएको छ । त्यसको अन्तरवस्तुमा विस्तारै छलफल होला । अर्को भनेको हामीले मुद्दा फिर्ताको कुरा गरेका छौँ । बन्दी रिहाईका कुरा गरेका छौँ । कमसेकम यो कुरालाई अहिले महत्वका साथ अगाडि बढाएपछि त्यसपछि थप छलफल गर्न हामीलाई सजिलो हुन्छ र अनि हामी सरकारमा जानलाई तयार छौँ भन्ने कुरा हामीले गरेका छौँ । अहिले त्यही किसिमले कुराकानी अगाडि बढेको छ । अहिलेसम्मको वातावरण हेर्दा सकारात्मक नै छ ।

भनेपछि राजपा अब चाँडै सरकारमा जाँदैछ ?

मैँले अघिपनि मैंले माथि भनेजस्तै कि हामीले राखेका शर्तहरुप्रति सकारात्मकता देखियो भने राजपालाई सरकारमा जान कुनै आपत्ति छैन । तर यसका लागि सरकार लाग्न जरुरी छ ।

जुन निर्णय र अपेक्षाकासाथ अपाईहरुले अहिले सरकारलाई समर्थन गरिराख्नु भएको छ । यदि पछि तपाईको अपेक्षा विपरित केही भयो भने त्यसबाट फिर्ता हुने अवस्था पनि हुनसक्छ ?

राजनीतिमा दुईवटै सम्भावना जतिखेर पनि हुन्छ । सकारात्मक कुरा गरेर हामी एउटा बिन्दूमा पुगेका हुन्छौँ । त्यसको परिणम नकारात्मक पनि हुन सक्छ र सकारात्मक पनि हुनसक्छ । अहिले दुबै पक्षले विश्वास गरेका छन् । शंसोधन गर्छु पनि भनेका छन् । यो मुद्दा फिर्ता र बन्दी रिहाईको कुरा मिल्ने बित्तिकै हामीबीच एउटा लिखित सम्झौता पनि हुनसक्छ । त्यसको आधारमा नै हामी सरकारमा जाने कुरा हुन्छ । यदि अपेक्षा अनुसारको काम भएन भने हामी संविधान संशोधनको मुद्दालाई समीक्षा गरेर सरकारलाई चेतावनीसहितको ज्ञापनपत्र बुझाउँछौँ । त्यती गरेर पनि संशोधनको बाटो खुल्न सकेन भने फेरि संघर्षको बाटोमा जानुको विकल्प छैन ।

संघर्षको किसिम कस्तो हुनेछ ? नाकाबन्दीको बेलाको जस्तो कि अन्य ?

होइन । एक त हामीले त्यसलाई नाकाबन्दी भनेका पनि छैनौँ । ज्यान जोगाउनका लागि हामी नाकामा गएर बसेको मात्रै हो । यता हुँदा कोही बोलिदिँदैनन् । अहिले सबैले निर्धक्क भएर नाकाबन्दी भन्छन् । तर त्यतीबेला ती कलम र आवाजहरु सहयोगमा कोही उठेन । गोली नचल्ने ठाउँमा गएर ज्यान जोगाएको हो । हामी ज्यान जोगाउन जहाँ बसेका थियौँ । त्यो नाकाबाट मात्रै सामान भित्रिएको हो । नाकाबन्दी भइदिएको भए ५ वटै नाका बन्द हुन्थ्यो । तर त्यस्तो होइन ।

हामीले नाकाबन्दी गरेका पनि होइनौँ । अब आन्दोलनको जे सुकै प्रवृत्ति पनि हुनसक्छ । शान्तिपूर्ण आन्दोलन गर्दै जाँदा गोली नै चल्यो भने ज्यान जोगाउन जस्तोसुकै आन्दोलन पनि होला । तर संघर्ष चाहिँ कडै हुन्छ । किन कडा हुन्छ भने यसभन्दा अघि हामी सडकमा मात्रै हुन्थ्यौँ । तर आजको दिनमा राम्रो कुरा के हो भने हामीसंग एउटा प्रादेशिक सरकार पनि हुनेभयो । यसले गर्दा हाम्रो मनोबल उच्च पनि भएको छ । जिम्मेवारी पनि थप बढेको छ । तर हामी अहिले नै यति धेरै नकारात्मक नै भइसकेका छैनौँ । विश्वास छ अब निकास निस्किन्छ ।

राजपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर त्यो हुन सकेन । अब सरकारमा जाँदा को -को जाने भन्ने कुरा भएको छ कि छैन ?

यसमा औपचारिक रुपमा कुनै कुरा आइसकेको छैन । ६ वटा पार्टी मिलेर राजपा भएका छौँ । पात्रका लागि सकस त होला । तर त्यो कुनै गाह्रो कुरा होइन । जस्तो ; गएको निर्वाचनमा पनि एउटै निर्वाचन क्षेत्रमा ६/६ वटा प्रतिस्पर्धिहरु देखिएका थिए । तर पनि हामीले त्यो मिलायौँ ।प्रतिनिधि सभामा अहिले हाम्रो १७ जना छन् । सबैको मनमा म मन्त्री बन्न पाए हुन्थ्यो भन्ने कुरा हुनु अस्वभाविक पनि होइन । तर पनि हामी सहमतीका आधारमा सजिलै निर्णय गछौँ ।

अन्त्यमा, यति धेरै लामो आन्दोलन गर्नुभयो । मुद्दा अझै टुंगिसकेको छैन । मधेशका जनताले हाम्रा अधिकार र आन्दोलनका कुराहरु कहाँ पुगे भनिरहेका छन् । के उत्तर दिनुहुन्छ ?

भर्खरै हामी निर्वाचन लडेर आएका छौँ । त्यसताका घरदैलो गर्दा आम जनताको अपेक्षा के देखियो भने संविधान संशोधन हाम्रो मूल एजेण्डा हो । संशोधन नभएसम्म मधेशवादी दल सरकारमा जानु हुँदैन भन्ने कुरा पायौँ । त्यस कारण जबसम्म संशोधनको ग्यारेन्टी हुँदैन, तबसम्म सरकारमा नजाने भन्नु नै जनताकै एजेण्डा र अधिकारको कुरालाई लिनु हो ।

आम जनताले के चाहान्छन् त्यसलाई हामीले उतार्ने हो । जनताको भावना, आवश्यकता, इच्छा र आकांक्षालाई पार्टीले पालना गर्नुपर्छ । जनताको भावना अनुसार नै मुद्दाहरु अगाडि सारेका कारण हामी विचलित भएका छैनौँ । जबसम्म हाम्रो मुद्दाको बारेमा सम्बोधन हुँदैन । तबसम्म हामी अगाडि बढ्दैनौँ ।