काठमाडौं–सभामुख कृष्णबहादुर महरा र नेपालका लागि उत्तर कोरियाका राजदूत चोई ताई पोकबीच भेटवार्ता भएको छ । आइतबार सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत पोकले महरालाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई दिँदै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाएका थिए । साथै उनले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताए ।


ADVERTISEMENT


उनीहरुबीच नेपाल र उत्तर कोरियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने सम्बन्धमा छलफल भएको उपसचिव हरिहर पोखरेलले जानकारी दिएका छन् । त्यसअवसरमा राजदूत पोकले निर्वाचनपछि मुलुकले स्थायित्व हासिल गर्दै विकास निर्माणमा जुट्न आग्रह समेत गरे ।


ADVERTISEMENT

# # #


सभामुख महराले नेपाल र उत्तर कोरियाबीच लामो समयदेखि प्रगाढ सम्वन्ध रहेको जानकारी गराउँदै दुई देशको संसदबीच मैत्रीपूर्ण समूह स्थापना गर्ने र संसदीय भ्रमण आदान प्रदान गरी अबका दिनमा संसदीय सम्बन्ध झनै प्रगाढ गराउनुपर्ने प्रस्ताव राखे ।

उत्तर कोरिया र नेपालको संसदीय सम्बन्धलाई अझ विस्तार गर्ने र दुवै देशको संसदबीच भ्रमण गर्ने र अनुभव आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो । भेटमा उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध सुधार हुँदै गएकोमा सभामुखले खुसी व्यक्त गरेका थिए । दुई कोरिया एउटै कोरिया भएको र शान्तिपूर्ण कोरिया भएको हेर्न चाहेका विचार व्यक्त गरे ।

सो अवसरमा राजदूत पोकले उत्तर कोरियाको भ्रमण गर्न निम्तो दिए । जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताए ।

‘म उत्तरकोरियाको भ्रमण गर्न इच्छुक छु, अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु, उनले भने, ‘त्यहाँ पुगेर किम इल सुङको घर, जंगलभित्रको म्यूजियम र उत्तरकोरियाको विकास अवलोकन गर्ने चाहना छ ।’

नेपाल र उत्तर कोरियाको भ्रमण आदान प्रदान हुने गरेको र आगामी दिनहरुमा दुई देशबीचको सम्वन्ध अझ प्रगाढ वनाउन आफ्नो प्रतिवद्धता महराले व्यक्त गरे ।

कतारका राजदूतसँग पनि भेट

सभामुख महराले आइतबारै नेपालका लागि कतारका राजदूत युसुफ विन मोहमद अल हेलसँग शिष्टाचार भेट गरे । भेटमा राजदूत हेलले महरालाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई दिए । उनीहरुबीच नेपाल र कतारबीचको सम्वन्धलाई थप प्रगाढ वनाउदै लैजाने सम्वन्धमा छलफल भएको उपसचिव हरिहर पोखरेलले जानकारी दिए ।

सभामुख महराले नेपाल र कतारबीच लामो समयदेखी प्रगाढ सम्वन्ध रहेको स्मरण गर्दै दुई देशको संसदबीच मैत्रीपू्र्ण समूह स्थापना गर्ने र संसदीय भ्रमण आदन प्रदान गरी अबका दिनमा संसदीय सम्वन्ध थप प्रगाढ गराउने विषयमा छलफल भएको थियो । कतार र नेपालको संसदीय सम्वन्धलाई विस्तार गर्ने र दुवै देशको संसदबीच भ्रमण गर्ने र अनुभव आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

हाल ४ लाख भन्दा वढी नेपालीहरु कामदार कतारमा रोजगारीमा रहेको र रोजगारमा रहेका नेपालीहरु सुरक्षाको सम्बन्धमा सभामुख महराले चासो व्यक्त गरेका थिए । दुबै राजदूतसँगको भेटमा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई, सचिव हिमलाल सुवेदी, विरेन्द्र वहादुर कार्कीको उपस्थिति थियो ।