काठमाडौं–साबिक बिजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले जिरोनालाई ६–३ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै लुकास भास्क्वेज र ग्यारेथ बेलले समान एक एक गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुवानीले दुई तथा जुआन्पेले एक गोल गरे ।


ADVERTISEMENT


खेलको ११ औं, ४७ औं, ६४ औ र ९० औं मिनेटमा गरी चार गोल गरेका थिए । जिरोनासँगको ह्याट्रिकसँगै रोनाल्डोले करियरको ५० औं ह्याट्रिक पुरा गरे । पछिल्लो समय उच्च लयमा देखिएका रोनाल्डोले पछिल्लो ११ खेलमा २१ गोल पुरा गरिसकेका छन् । रोनाल्डोले यो सिजन ला लिगामा २२ औं गोल र सबैखाले प्रतियोगितामा ३७ औं गोल गर्न सफल भएका छन् ।


ADVERTISEMENT

# # #


११ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाएका थिए । तर, २९ औँ मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।

दोस्रो हाफमा दुवै तर्फबाट गरी सात गोल भयो । ४७ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ५९ औँ मिनेटमा वाज्क्वेजले गोल गरे ।

६४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले ४–१ के अग्रता लियो । ६७ औं मिनेटमा जिरोनाका स्तुएनीले व्यक्तिगत दोस्रो गोल गरे । रियलका लागि ८६ औँ मिनेटमा बेलले एक गोल गर्दै अग्रता ५–२ को बनाए । त्यसको दुई मिनेटपछि जिरोनाका लागि लोपेजले गोल गरे ।

तर यसअघि नै ह्याट्रिक गरिसकेका रोनाल्डो रोकिएनन् । उनले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६–३ को जित दिलाए । यो जितसँगै रियल मड्रिड लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । रियलले २९ खेलबाट ६० अंक जोडेको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा १५ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ ।

पराजित जिरोना ४३ अंकसहित सातौं स्थानमा छ । लिगको शीर्ष स्थानको बार्सिलोनाको ७५ र दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ अंक छ ।