काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि २–० को जित दर्ता गर्दै अपराजित यात्रा कामयै राखेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन मेसी र पाको अलकेसरले गोल गरे । खेलको आठौं मिनेटमा अलकेसरले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । प्रतिबन्धका कारण खेल्न नपाएका लुइस स्वारेजको ठाउँमा खेलेका अलकेसरले गोल गरेका हुन् ।


ADVERTISEMENT

# # #


३० औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारे। मेसीले यो सिजन ला लिगामा २५ गोल गरिसकेका छन्। उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । त्यसपछि बार्साका केही कडा प्रहार बिफल भएका थिए । फिलिप कोन्टिन्होले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो भने पाउलिन्होले पनि गोल गर्ने प्रयास गरेका थिए ।

जितपछि शीर्ष स्थानको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ अंकले अघि रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ७५ अंक भएको छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ अंक छ ।

यो सिजन ला लिगामा अपराजित रहेको बार्सिलोना उपाधि होडमा सबैभन्दा अघि र बलियो बनेको छ । यस्तै उसले ला लिगा सिजनका सबै खेलमा अपराजित रहने कीर्तिमान बनाउने पनि सम्भावना छ ।

अब लिगमा ९ खेल मात्रै बाँकी रहेको छ । अहिलेसम्म कुनै पनि टिम लिगका सबै ३८ खेलमा अपराजित रहेका छैनन् । तर बार्सिलोनाले त्यो कीर्तिमान बनाउने सम्भावना छ ।