म्याग्दी– पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ ।
जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीय उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले बताए।
ती ढुङ्गा विगतमा समेत गाउँमा प्रयोग गरिने गरेको भए पनि सडक विस्तारको क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीय दङ्ग परेको छन्त्यालको भनाइ छ । ढुङ्गाको खानी भेटिएपछि स्थानीयले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समिति समेत बनाएका छन् ।
स्थानीयले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासमा लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ । बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ ।
ढुङ्गाखानीलाई व्यावसायिकरुपमा सञ्चालन गरी गाउँमा रहेको भुमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयको भनाइ छ । सडकको दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायतका क्षेत्रबाट समेत माग आउन थालेको छ ।