काठमाडौं–गएको फागुन २९ गते राति काठमाडौंको पिंगलास्थान गौशालाबाट हतियारसहित गुण्डा नाइके गणेश लामा पक्राउ परे । पक्राउ परेकै राति सञ्चारमाध्यममा समाचार आयो । प्रहरीले लामाबाट टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली र एउटा खोका बरामद गरिएको बताएको छ ।


ADVERTISEMENT


लामा चढ्ने गरेको बा ३ च १७२ नम्बरको प्राडो गाडी पनि प्रहरी नियन्त्रणमा छ । लामाले भने आफूमाथि हतियार चलेको र आफूलाई मार्न खोजिएको प्रहरीसँग बताएका छन् । आफूमाथि गोली प्रहार गर्नेलाई नचिनेको र आफूले ऊसँग पेस्तोल खोसेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । तर, प्रहरीले भने उनको बयान विश्वास गरिरहेको छैन । बलियो प्रमाणको रुपमा प्रहरीसँग सीसीटिभी फुटेज भने छ ।


ADVERTISEMENT

# # #


के छ सीसीटिभी फुटेजमा ?
स्रोतका अनुसार फागुन २९ गते राति गणेश लामा पक्राउ परेको स्थानको सीसीटिभी फुटेज प्रहरीसम्म आइपुगेको छ । अहिलेसम्म प्रहरीले त्यसबारे बोलेको छैन । तर, सीसीटिभी फुटेजमा प्रष्टसँग पेस्तोल गणेश लामाको हातमा देखिन्छ । स्रोतले भन्यो, “फुटेजमा गणेश लामाको हातमै पेस्तोल देखिन्छ, अनि सडकमा केही मान्छे हिँडेको पनि देखिन्छ ।”

प्रहरीले अहिलेसम्म फुटेज प्रशासन कार्यालयमा पेश गरेको छैन । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद पाएको थियो । यही १० गते प्रमुख जिल्ला अधिकारीलाई त्यो फुटेज उपलब्ध गराइने प्रहरीले बताएको छ । स्रोतका अनुसार लामालाई पक्राउ गर्ने प्रहरीहरुसँग पनि घटनास्थलको अवस्थाबारे बयान लिइएको छ ।

लामालाई प्रहरीका तीन प्रश्न

पक्राउ परेका लामा महानगरीय प्रहरी परिसर काठमाडौंमा हिरासतमा छन् । स्रोतका अनुसार प्रहरीले लामालाई गरेका मुख्य तीन प्रश्न यस्ता छन् ।

१. बरामद भएको हतियार कताबाट आयो र कसको हो ?
२. कसले गोली चलायो ?
३. घटना कसरी घट्यो, कारण के हो ?

तर, लामाले हतियार आफ्नो नभएको र अरु कुरा आफूलाई थाहा नभएको बयानमात्रै दिएका छन् । लामाले आफूमाथि गोली प्रहार भएको तर्क गरे पनि कसले र किन गर्यो भन्ने बताउन सकेका छैनन् । यसकारण पनि प्रहरीले लामामाथि थप शंका गरिरहेको छ । लामामाथि अनुसन्धान गर्न फेरि म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।