इटहरी नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलले पाँचौं महाधिवेशनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। संगठनका अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन प्राप्त कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाइसकेका छन्।


ADVERTISEMENT


सार्वजनिक कार्यतालिका अनुसार, भदौ १५ गतेभित्र संगठनले पूर्ण सदस्यता वितरण कार्य सम्पन्न गरी वडा र पालिकास्तरीय अधिवेशन सम्पन्न गर्नेछ। त्यसपछि भदौ मसान्तभित्रै केन्द्रीय कार्यालयबाट ती सदस्यता स्वीकृत गरिनेछ र क्षेत्रीय तथा जिल्लास्तरीय अधिवेशनका प्रतिनिधिहरूको अनुमोदन पनि गरिसक्नुपर्नेछ।


ADVERTISEMENT

# # #


कार्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न गरिनेछ भने कार्तिकको अन्तिमसम्ममा जिल्लास्तरीय अधिवेशन सम्पन्न गरिने तालिका छ। त्यसपछि मंसिर १० गतेभित्र सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिनेछ।

महाधिवेशनको प्रमुख चरण अन्तर्गत, मंसिर २६, २७ र २८ गते नेपाल तरुण दलको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिने कार्यक्रम तय गरिएको छ। संगठनले यो कार्यतालिका अनुसार चरणबद्ध रूपमा सबै तहका अधिवेशनहरू सम्पन्न गर्दै निर्धारित मितिमा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरेको छ। यस महाधिवेशनलाई नेतृत्व चयन तथा आगामी कार्यदिशा निर्धारणको दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।