बनेपा– काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।


ADVERTISEMENT


बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुवै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मङ्गलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो ।

पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुङ्गो लागेको जानकारी दिए।

उनका अनुसार पनौती नगरपालिकामा मात्रै आठ जनाको नाम प्रस्तावित भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई यही वैशाख ७ गतेको समय निर्धारण गरेको छ ।