नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यसंग हिमालयपोष्टले गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


परिवर्तित समय अनुसार कांग्रेसले अहिले आफूलाई प्रतिपक्षीको रुपमा संसदमा उभ्याएको छ । अबका दिनमा कसरी अगाडि बढ्नुपर्छ ?


ADVERTISEMENT

# # #


यसका लागि संगठन बलियो गरेर हिंड्नुपर्छ । सबैभन्दा ठूलो कुरा हिजो आफूले गरेका गल्तीहरुलाई पार्टीका नेताहरुले समालोचना गर्नुपर्छ । त्यो भनेको के हो भने पहिलो कुरा पार्टीका नेताहरु पार्टीको पद्धतीमा बसेर अनुशासित हुन सक्नुपर्यो । नेता अनुशासित भएन भने कार्यकर्ता पनि अनुशासित हुन सक्दैनन् । पार्टीमा अहिले जे भइराखेको छ, त्यसको कारण यही हो । यसमा कुनै एकजना नेतालाई मात्रै म दोष दिन चाहान्न । अहिलेको परिस्थितिमा वाम गठबन्धन ठूलो शक्ति भएको छ । ओली सरकार अहिले नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार बन्न पुगेको छ । त्यसको प्रतिपक्षमा बस्नका लागि संगठनात्मक रुपमा बलियो हुनुको विकल्प छैन ।

त्यसका लागि कांग्रेसले कुन रणनीति अगाडि सारिरहेको छ ?

यसमा कांग्रेसले कुनै रणनीति बनाएकै छैन । एकले अर्कालाई हिलो छ्याप्ने काम मात्रै भइराखेको छ । गुटबन्दी चरम सीमामा पुगेको छ । यसले पार्टीलाई बलियो बनाउँदैन । पार्टीलाई समग्र रुपमा अनुशासित ढंगले अगाडि बढाउनु आवश्यक छ ।

निर्वाचन पश्चात कांग्रेस पुर्नजागरणको विषय व्यापक रुपमा उठेको छ । युवा नेतादेखि कार्यकर्तासम्मले यसको माग गरेका थिए । खासमा कांग्रेसलाई पुर्नताजगी गराउन के गर्नुपर्छ ?

यो कस्तो खालको जागरण हो मलाई थाहा छैन । सबैभन्दा पहिला नेताहरु प्रजातान्त्रिक पद्धतिमा हिंड्ने अठोट, प्रतिवद्धता व्यक्त गर्नुपर्यो । नेताहरुले प्रजातन्त्र के हो भनेर बुझेको जस्तो लाग्दैन । एक पटक चुनाव जितेपछि उसलाई आफ्नो अवधिसम्म काम गर्न दिनुपर्छ । अनि मात्र मूल्याङ्कन गर्ने हो । गिरिजा बाबुले संसदमा बहुमत हुँदाहुँदै पनि संसद विघटन गर्नुभयो । जनताले कांग्रेसलाई त्यतिबेलादेखि नै मूल्याङ्कन गरिरहेका छन् । ५६ सालमा किसुनजीलाई प्रधानमन्त्री भनेर चुनावमा गइयो । बहुमत आयो । फेरि किसुनजीलाई काम गर्न दिइएन । अविश्वासको प्रस्ताव दर्ता गर्छु भनेर तर्साइतर्साइ राजीनामा दिन बाध्य पारियो । यो कसरी प्रजातान्त्रिक पद्धति भयो ?

 नेपालको इतिहासकै शक्तिशाली ओली सरकारको प्रमुख प्रतिपक्षमा बस्नका लागि कांग्रेसले संगठनात्मक संरचना बलियो बनाउनुको विकल्प छैन ।

गैरप्रजातान्त्रिक संस्कृति बोकेर प्रजातन्त्र बलियो हुनसक्दैन, संगठन बलियो हुन सक्दैन । त्यसैले अहिले युवा नेताहरुमा म विचलन देखिरहेको छु । पहिले अनुशासित भएर बस्नुपर्यो । असहमती भए केन्द्रिय कमिटीको बैठकमा राख्नु पर्यो । केन्द्रिय सदस्य भएर पनि बाहिर गएर पार्टीको छवी धमिल्याउने काम कसैले गर्नुहुँदैन । पार्टी सभापतिले बदमासी गर्यो भने आउने अधिवेशन मार्फत हटाउने हो । कसैलाई गाली गर्दैमा कोही बलियो र राम्रो हुन सक्दैन । त्यस कारण सबैले एक साथ भएर अब कांग्रेसलाई अगाडि बढाउनुपर्छ ।

गणेशमान र किसुनजीको पालाको कांग्रेस र अहिलेको पार्टी नेतृत्वको प्रक्रिया र नेतृत्वलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

गणेशमान र किसुनजी नैतिकवान् नेताहरु हुन् । नैतिकताको आधारमा राजनीति गर्ने मानिस हुन् । जहाँ नैतिकता शीथिल हुँदै गयो । उहाँहरु पनि शीथिल हुँदै जानु भयो । जतिबेला पार्टीमा नैतिकताले ठाउँ छोड्यो । उहाँहरुले पनि पार्टी छोड्नु भयो । उहाँहरुको आधार नै नैतिकता थियो । पार्टीमा अहिले नैतिकता मरेको छ । यसलाई फर्काउन सक्नुपर्यो ।

नेता बन्न आफैमा प्रतिज्ञा चाहिन्छ । जनताप्रतिको प्रतिवद्धता चाहिन्छ । जुन कुरा म अहिले कसैमा देखिराखेको छैन ।

कसले फर्काउने ?

अहिलेको नेताहरुले । यदि गर्न सकेनन् भने कार्यकर्ताले उनीहरुलाई फ्याँक्नुपर्छ । पार्टीभित्र धेरै राम्रा कार्यकर्ता पनि छन् । कांग्रेसमा धेरै संघर्ष गरेर आएका नैतिकवान् कार्यकर्ता थुप्रै छन् । अहिले उनीहरुलाई कुनामा थन्काएर राखिएको छ । अब उनीहरु बाहिर आउँछन् । नयाँ युवाहरु पनि पार्टीमा समाहित हुन्छन् । उनीहरुले नै पार्टीलाई सुधार गर्छन् ।

भनेपछि कांग्रेसमा अहिले योग्य नेतृत्वको अभाव भएको हो ?

त्यो त देखिरहेको छ । ४६ साल अगाडीको जस्तो त्याग र तपस्या भएको कांग्रेस, सही निर्णय गर्नसक्ने कांग्रेस बन्नुपर्छ । तर त्यसका लागि सही नेतृत्व हुनु आवश्यक छ । नेता कसैले बनाएर बन्दैन । विपी कोइरालाले पनि धेरै नेता बनाउन काशिस गरे । राजा महेन्द्रले पनि धेरै नेता बनाउन खोजे । तर बन्न त कोही सकेनन् नि । नेता बन्न आफैमा प्रतिज्ञा चाहिन्छ । जनताप्रतिको प्रतिवद्धता चाहिन्छ । जुन कुरा म अहिले कसैमा देखिराखेको छैन । यो एउटा ठूलो कमजोरी हो ।

पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो । प्रजातन्त्रका पक्षधर कमजोर हुनु हो । त्यो भनेको वामपन्थी बलियो हुनु हो र देशमा प्रजातन्त्र सकिनु हो ।

अब तपाईको निर्वाचनको पनि कुरा गरौँ । ललितपुर ३ मा माओवादीबाट वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसालसंग पराजित हुनु भयो । यसको समीक्षा कसरी गर्नुहुन्छ ?

यसमा म त व्यापक अन्तर्घात भएको भन्छु । मेरो प्रतिद्वन्द्वीबाट पैसा लिएर मलाई हराउने काम भयो । जुन कुरा मैँले अस्ती क्यानडा गएको बेला थाहा पाएँ । त्यहाँ साथीहरुले भन्दै हुनुहुन्थ्यो, ‘मदनले ललितपुर खायो । अब यसलाई हराउनु पर्छ’ भनेर पार्टीका अन्य व्यक्तिबीच कुराकानी भएको थियो रे । ओमकार जस्ता व्यक्तिले राजनीतिलाई व्यापार र पार्टीलाई दुहुनो गाई बनाएका छन् । त्यो मैले गर्न दिइन । साथीहरु कसैलाई पैसा उठाउन दिइन । तर उनीहरुलाई त्यो कुरा पचेन । मेरो चुनाव प्रचारको क्रममा आफ्ना कार्यकर्ता छिराएर हरेक चुनावी रणनीति र जानकारी प्रतिद्वन्द्वीलाई दिने काम भयो । ओमकारको टिम र उसका मानिसहरुले खुलेआम भनेका छन् । मदन अमात्यलाई हराउन ४ हजार भोट पम्फा भुसाललाई दिएका छौ भनेका छन् । यसरी पराजित गरियो ।

तर तपाईको पार्टीले त चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्छौँ भनेको छ नि ? कारबाही त गर्यो होला नि ?

यसमा पार्टीले एक्सन त लिनुपर्छ । सभापति देउवाले पनि अन्तर्घात गर्नेलाई कारबाही गर्छ भनेर भन्नु भएको छ । तर अहिलेसम्म भएको छैन । यदि त्यसो भएन भने भोलिका दिनमा जनताको काम गर्ने व्यक्ति कोही पनि चुनाव जित्दैन । यो भन्दा भयावह स्थिती सिर्जना हुन्छ । गुटबन्दी गरेर, कसैलाई अन्तर्घात गरेर नेता बन्ने सपना देख्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । अहिले पनि कांग्रेसलाई माया गर्ने असीमित मानिस छन् । नेता कार्यकर्ता र उनीहरुका प्रवृत्तिमा सुधार आउनु आवश्यक छ । पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो । प्रजातन्त्रका पक्षधर कमजोर हुनु हो । त्यो भनेको वामपन्थी बलियो हुनु हो र देशमा प्रजातन्त्र सकिनु हो ।

अवैधानिक तरिकाले संविधानभन्दा माथि गएर, संविधानलाई मिचेर काम गर्नु डरलाग्दो विषय हो ।

अहिले ओलीले कती असंवैधानिक काम गरिरहेका छन् त्यो हामीले देखेकै छौँ । प्रधानन्यायाधीश जस्तो मानिसलाई एउटा सचिवले बर्खास्त गर्नसक्छ ? सक्ने भए दुई तिहाई भएको सरकारले संसदमा महाअभियोग लगाएर हटाउन सकिन्थ्यो नि ? अवैधानिक तरिकाले संविधानभन्दा माथि गएर, संविधानलाई मिचेर काम गर्नु डरलाग्दो विषय हो । मलाई शंका लाग्छ कतै ओली संविधान सिद्ध्याउन त आएका हैनन् ?

पछिल्लो राजनीतिलाई यहाँले कसरी नियाली रहनु भएको छ ? देशको अबको दिशा के देख्नुहुन्छ ?

नेपालमा अहिले राजनीति होइन, सत्ताको खेल भइरहेको छ । जसरी पनि सरकारमा जाने, सरकारमा टिक्ने र लामो समयसम्म सरकारमा बसेर पैसा कमाउने रणनीति भइरहेको छ । जनतालाई छक्याएर, झुक्याएर आफू सत्तामा बसिरहने खेल हो यो । तर मलाई लाग्दैन कि यो सरकार धेरै दिन टिक्छ । नेताहरु अब सच्चिने बेला आएको छ । समृद्धिको मुद्दा उठाइरहँदा अब सबैले एक ठाउँमा आउन जरुरी छ । प्रजातन्त्रका लागि नेपाली कांग्रेसले जुन किसिमको आन्दोलन गर्यो, अब समृद्धिको लागि पनि हातेमालो गर्न आवश्यक छ ।

व्यक्तिमा केन्द्रित राजनीतिको विरुद्धमा म लडिरहेको छु । व्यक्तिभन्दा पनि संस्थालाई महत्व दिनुपर्छ । मेरा अबका दिन म राष्ट्रका लागि समर्पित गर्न चाहान्छु ।

अहिले जे जती उपलब्धी भएका छन् । ती सबैमा नेपाली कांग्रेसले अग्रणी भूमिका खेलेकै छ । जस अपजस जे जती भए । ती सबै कांग्रेसले लिनै पर्छ । हरेक नेता कार्यकर्ताहरुले आफूलाई सच्याएर जानुपर्छ । त्यस्तै अबका दिनमा सकारात्मक कुराका लागि हात अगाडि बढाउनै पर्छ । हाम्रो देश सानो छ । यसकारण व्यवस्थापन गर्न एकदमै सहज छ । प्राकृतिक स्रोत साधानका हिसाबले एकदमै सम्पन्न छ । यी कुराहरुलाई विश्व समुदायामा पुर्याउन सकियो भने युवा पलायन रोक्दै नेपालको विदेशिएको जनशक्तिलाई पनि नेपालमा फिर्ता बोलाउन सकिन्छ । धेरै भन्दिन म यदि सच्चा मनले काम गर्ने हो भने पाँच वर्षमा देशले कायापलट गर्छ । तर त्यसका लागि नेताहरुले प्रतिवद्धता गर्नुपर्यो ।

अब पार्टीको सुधार र देशको लागि मदन अमात्यको अबको भूमिका के हन्छ ?

मैँले पहिले पनि भन्ने गरेको छु । म राष्ट्रको लागि, जनताको लागि जन्मेको मानिस हुँ । कांग्रेस भन्दा पहिले म एउटा नेपाली हो । प्रजातन्त्रवादी भएकोले म कांग्रेस भएँ । प्रजातन्त्रको नेतृत्व कांग्रेसले गरेकाले म कांग्रेस भएको हुँ । म राष्ट्र र जनताको लागि काम गर्ने मान्छे हुँ न कि पार्टीको लागि । त्यसैले प्रजातान्त्रिक पद्धती, शैली, आचरण, अनुशासनमा बसेर काम गर्ने गरेमा मात्र देश र पार्टी बलियो हुन्छ । व्यक्तिमा केन्द्रित राजनीतिको विरुद्धमा म लडिरहेको छु । व्यक्तिभन्दा पनि संस्थालाई महत्व दिनुपर्छ । मेरा अबका दिन म राष्ट्रका लागि समर्पित गर्न चाहान्छु ।

 हामी ललितपुरलाई एउटा सानो नेपाल बनाउने अभियानमा छौँ । नेपाली कसरी बनाउने भन्ने उदाहरण हामी प्रस्तुत गर्छौँ ।

कुनै व्यक्ति म देशका लागि केही गर्छ भनेर आउँछ भने त्यसका लागि काम गर्ने वातावण छैन भनेर थुप्रै गुनासो सुन्ने गरिन्छ । त्यसका लागि अब कस्तो कदम चाल्न आवश्यक छ ?

वातावरण नहुनु अर्को कुरा होला । तर गर्ने मानिसले वातावरण छैन भनेर भाग्नु कत्तिको अचित हो ? वातावरण छैन भने आफै निर्माण गर्ने हो । सबैले राष्ट्रका लागि काम गर्ने हो । राष्ट्र बलियो भयो भने मात्रै हामी बलियो हुन्छौँ । राज्यको नीतिभनदा एक कदम पनि कोही बाहिर जानु हुँदैन । तर प्रधानमन्त्री नै संविधानभन्दा बाहिर जान्छन् । अब त्यसो गरिनु हुँदैन । कानुन मिचेर कानुनी राज्य निर्माण गर्छु भन्नु दिवास्वप्न हो । भ्रम हो । त्यस कारण कोही राज्यको परिधिभन्दा बाहिर जान्छ भने नागरिकले पनि औँला ठडाउन सक्नुपर्छ । हामी ललितपुरलाई एउटा सानो नेपाल बनाउने अभियानमा छौँ । त्यसको रिजल्ट केही समयपछि थाहा हुन्छ । नेपाली कसरी बनाउने भन्ने उदाहरण हामी प्रस्तुत गर्छौँ ।

नेपाल बनाउने अभियान ललितपुरबाट सुरुवात हुन्छ ?

हो । हामी अवरोधबाट डराएर हामी भाग्दैनौँ । किनभने हामीसंग त्यस्तो नेतृत्व छ । महानगरपालिका मेयरदेखि अन्य टिम सशक्त छ । इमान्दार र डाइनामिक छ । पार्टीले उनीहरुलाई विचार दिएको छ । कार्यक्रम दिएको छ र काम गर्न स्वतन्त्र बनाएको छ ।

तर अहिले त तपाईको मेयर विदेश मात्र घुमिरहेको छन् भन्ने गुनासो आएको छ नि ?

हेर्नुस्, विदेश नघुमी देश बन्दैन । विदेशमा पूराना सहरसंग हामी मीत लाउँदैछौँ । ताकी उनीहरुका प्रविधिदेखि काम गर्ने शैली सिकेर नेपालमा लागू गर्यो भने चाँडो विकास गर्न सकियोस् । किनकी हामीसंग त्यती अनुभव छैन । उनीहरुको अनुभव ल्याएर सहर निर्माण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसमा हामी लागि रहेका छौँ । सायद त्यसको केही परिणाम एक दुई महिनामा निस्किन्छ होला ।

यसका लागि ललितपुरवासी र अन्य सम्बन्धित निकायलाई के भन्नुहुन्छ ?

अब यसमा ललितपुरवासी सबैको साथ र सहयोग चाहिन्छ । एकै जनाले गरेर यो सम्भव हुन सक्दैन । एकै पटक पनि हुन सक्दैन । त्यसका लागि क्रमबद्ध रुपमा जानुपर्छ । नेतृत्व हामी गछौँ । यसका लागि लतिलपुरवासीले सहयोग र विश्वास गनुपर्छ । हामी ललितपुरका जनताप्रति एकदमै इमान्दार छौँ । हामी ललितपुरलाई एउटा सानो नेपाल बनाउन चाहान्छौँ । हामी उदाहरण बन्न चाहान्छौँ । ता कि अरुले ललितपुरबाट देश विकास कसरी गर्ने भनेर सिकोस् ।

अन्त्यमा, देश संघियतामा गइसकेको छ । तर पनि यति सानो मुलुकले तीन तीन वटा सरकार धान्न सक्दैन भन्ने खालका प्रश्न पनि उठिरहेका छन् । यसमा तपाईको धारणा के हो ?

हेर्नुस् । संविधान बनिसकेपछि त्यसको सबैले पालना गर्नुपर्छ । कुनै पनि निणर्य लिइसकेपछि त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नतिर लाग्नुपर्छ । बीचबाटोमा अलमल गर्नु आवश्यक छैन । सबै मिलेर यसलाई कार्यान्वयन गर्नुपर्छ । बरु सकिन्छ भने अलि कम खर्च गर्नुपर्छ । पूर्व राष्ट्रपति, प्रधानमन्त्रीहरुले भत्ता लिनु हुँदैन । मन्त्रीहरुले अनावश्यक सेवा सुविधा लिनु हुँदैन ।

ओबामाले त तरकारी तानेको हामी देखिरहेका छौँ । अमेरिका जस्तो देशले आफ्ना के गर्न सक्दैन ? के कुराको कमी छ र उसमा ? तर पूर्व राष्ट्रपतिलाई केही सुविधा दिएको छैन नि । हो नेपालमा पनि नेताहरुले त्याग गर्न सक्नुपर्यो । गरिब देशले घर, गाडी दुनियाँ सेवा सुविधा दिनुपर्छ भन्ने अनिवार्य पनि छैन । त्यो भएमा राज्यको भार पनि कम हुन्छ । राज्यले दिए पनि म लिन्न भन्न सक्ने नैतिकवान बन्न सक्नुपर्यो । अनावश्यक खर्च गर्नु हुँदैन भन्ने मेरो भनाई के हो ।