काठमाडौं–हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामबाट प्रशिद्ध तीर्थ स्थल पाथीभरा जाने यातायातका साधनहरु बन्द भएपछि तीर्थ यात्रीहरु बिचल्लीमा परेका छन् । जिल्ला सदरमुकामबाट पाथीभराको तल्लो फेदी (काफ्लेपाटी) सम्म जाने सवारी साधन चालकहरुले सवारी नचलाएपछि यात्रुहरु बिचल्लीमा परेका हुन् ।


ADVERTISEMENT


सवारीचालकहरुले पाथीभराको तल्लो फेदीमा (काफ्ले पाटी) रहेको काउन्टरले त्यहाँ बसेका प्रहरीहरुको मिलेमतोमा अभद्र व्यवहार गरेको आरोप लगाएर यातायात बन्द गरेको बताएका छन् । पाथीभरा व्यावसायी संघ ताप्लेजुङले काउन्टरको जिम्मा रुपेश लिम्बुलाई लगाएको भएपनि उनी बाहिर गएको बेला अन्यत्र व्यक्तिहरु काउन्टरमा प्रबेश गरी चालकहरुलाई गालि गलोज गर्ने तथा तीर्थ यात्रीहरुलाई समेत अभद्र व्यवहार गर्ने गरेकाले यातायात बन्द गर्नु परेको नाम उल्लेख नगर्ने शर्तमा एक चालकले बताए ।


ADVERTISEMENT

# # #


काउन्टरमा अहिले रहेका व्यक्तिहरुले प्रहरीलाई नै हप्काउने तथा सो स्थान देखि बजार सम्म आउने भाडा तीन सय कायम गरेपनि प्रति तीर्थ यात्रीलाई ६ सय सम्म अशुल्ने भएका करण पनि आफूहरुले यातायात बन्द गरेको चालकहरुले बताएका छन् । काउन्टरमा रहेका व्यक्ति तथा त्यहाँ खटिएका प्रहरी हवल्दार लगायतको टोली परिवर्तन नभए सम्म आफूहरुले यातायात सञ्चालन नगर्ने चालकहरुको अडान रहेको छ ।

अहिले पाथीभराको सिजन समेत परेकाले जिल्लामा तीर्थ यात्रीको चाप रहेको छ । यही मौसममा यातायात बन्द भएपछि हजारौंको संख्यामा आएका तीर्थ यात्रीहरु बिचल्लीमा परेका छन् । अहिले दैनिक पिकअप लगायतका १ सय ५० सावरीका साधनहरु सो क्षेत्रमा सञ्चालनमा रहेको यातायात व्यावसायी संघले जनाएको छ । यातायात व्यवसायी संघले चालकहरुलाई भेला पारेर छलफल गरिरहेको र प्रहरी प्रशासनलाई पनि जानकारी दिईसकेको बताएको छ ।