काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णहरी शर्मा पोखरेल यही शनिबारदेखि अनिवार्य अवकाशमा जान लागेका छन्। पोखरेल ५६ वर्षे उमेरहदका कारण सेवाबाट अवकाश पाउने भएका हुन्।
प्रहरी प्रधान कार्यालयले पोखरेललाई शुक्रबार साँझ नै औपचारिकरूपमा बिदाइ गर्ने तयारी गरेको छ। एआईजी पोखरेल हालका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाकै ब्याचका अधिकृत हुन्।
एआईजी पोखरेल अनिवार्य अवकाशमा जान लागेका बेला, हालका आईजीपी दीपक थापाको सेवाअवधि भने थपिने सम्भावना देखिएको छ। स्रोतका अनुसार सरकारले ३० वर्षे सेवा हदको प्रावधान हटाउनेबारे उच्चस्तरीय छलफल अघि बढाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते चीन भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद् बैठकबाट सेवा हदबारे निर्णय गर्ने तयारीमा रहेको जनाइएको छ।
मन्त्रिपरिषद्को आज वा भोलि बस्ने बैठकमा सेवा हद हटाउने निर्णय हुन सक्ने अनुमान गरिएको छ। तर, विगतमा सर्वोच्च अदालतले दिएको परमादेश र सेवा हदमाथिको निर्णयप्रति कानुनी प्रश्न उठ्न सक्ने भएकाले यसबारे थप छलफल भइरहेको छ।
३० वर्षे सेवा हद हटेमा आईजीपी थापासँगै एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि लाभान्वित हुनेछन्। उता, आईजीपी थापाको अवकाशपछि कार्यकाल छोटो भए पनि सम्भावित आईजीपीका रूपमा चन्द्रकुबेर खापुङले सक्रियता बढाएका छन्।




























































