काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारी चालकले हेल्मेट नलगाए इन्धन नदिन निर्देशन दिएका छन्।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षालाई प्राथमिकता दिँदै उनले ‘नो हेल्मेट, नो फ्युल’ नीति तत्काल कार्यान्वयन गर्न सम्बद्ध निकायलाई आदेश दिएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार आयोजित छलफलमा उनले नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनलाई पत्राचार गरी हेल्मेट बिना इन्धन नदिने अभियान सञ्चालन गर्न निर्देशन दिए।
मुख्यमन्त्री बानियाँले भने, “हेल्मेट नलगाउने चालकलाई इन्धन नदिने व्यवस्था अब प्रदेशभर १५ दिनभित्र लागु हुन्छ। यसबाट दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने विश्वास लिएको छु।”
उनले जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूलाई पनि अभियानको निगरानी गर्न निर्देशन दिएका छन्। पेट्रोल पम्पहरूमा सन्देशमूलक सूचनापाटी राख्ने व्यवस्था गर्न सम्बन्धित निकायहरूलाई पनि जानकारी गराइएको छ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेशले अभियानलाई सफल बनाउन सम्बन्धित निकायसँग समन्वय गरी पेट्रोल पम्पहरूमा ‘हेल्मेट बिना इन्धन नपाइने’ जानकारीसहितको सूचनापाटी राख्ने भएको छ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रदेशभित्रको सवारी दुर्घटनाको अवस्था, कारण र न्यूनीकरण उपायबारे प्रस्तुति दिएको थियो।
मुख्यमन्त्री बानियाँले सवारी चालकहरूमा मादक पदार्थ र लागू पदार्थ सेवन परीक्षणलाई नियमित र प्रभावकारी बनाउने निर्देशनसमेत दिएका छन्। उनले सुरक्षा निकायहरूलाई सशक्त र समन्वयात्मक रूपमा काम गर्न आग्रह गरे।
छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रदेशका प्रमुख सचिव भूपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेन्द्रकुमार भारती, बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेल, सशस्त्र प्रहरी प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पेट्रोलियम डिलर्स एसोसिएसन बागमती अध्यक्ष सुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदी लगायत सहभागी थिए।



























































