काठमाडौं–एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ ।


ADVERTISEMENT


एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत फेला परेकी थिइन् । घटनामा संलग्नताको आशंकामा प्रहरीले एक ट्राफिक प्रहरीसहित तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


डेराबाहिर लगेर किशोरीलाई बलात्कार गरिएको र हत्या गरेर कोठामा छोडिएको अनुमान प्रहरीको छ । प्रहरी जवानकै नेतृत्वमा सोमबार मध्यराति किशोरीलाई डेरादेखि टाढा चौरमा पु¥याएर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले अस्थायी ट्राफिक पोस्ट, बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । सोमबार मध्यराति साढे १२ बजे प्रहरी जवान कोइराला र स्थानीय युवक लक्ष्मी बास्तोलाले गोरीकलालाई डेराबाट मोटरसाइकलमा राखेर लगेका थिए ।

इलाका प्रहरी कार्यालय, बाबियाचौरभन्दा करिब दुई सय मिटर टाढाको चौरमा लगेर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेको पाइएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनले भने, ‘किशोरीको मोबाइल डिटेल अध्ययन गर्दा प्रहरीको पनि संलग्नता देखियो, मध्यराति चौरमा लगेर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

किशोरीको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन् । घटनामा संलग्न रहेको आशंकामा गोरीकलालाई प्रहरी जवान कोइरालाको जिम्मा लगाउने स्थानीय माझीगाउँका २० वर्षीय युवक लक्ष्मी बास्तोला र डेरामा छोड्न जाने लक्ष्मीका दाइ खुमप्रसाद बास्तोलालाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ । ‘मदिरा सेवन गरेर मातेको पाइयो, चौरमा लिएर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेर डेरामा छोडिएको अनुसन्धानले देखाएको छ तर हत्या वा दुर्घटनाबाट मृत्यु हो, पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुन्छ ।’

किशोरीको शरीरमा रहेको चोट र आरोपीका कपडामा रगतको छाप भेटिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । नियन्त्रणमा रहेका लक्ष्मी बास्तोलाले भने किशोरीलाई डेरामा छोड्न जाँदा मोटरसाइकल दुर्घटनामा परेको र गोरीकला घाइते भएको बयान दिएका छन् । तर घटनामा प्रयोग भएको मोटरसाइकलमा कुनै क्षति नहुनु र चालक लक्ष्मी बास्तोला सकुशल रहनुले पनि गोरीकलाको मृत्यु दुर्घटनामा भएको तर्कलाई पुष्टि गर्दैन ।

प्रहरीले घटनामा प्रयोग भएको भे६प ३४५१ नम्बरको मोटरसाइकल र मोबाइल बरामद गरेको छ । अर्कोतर्फ मध्यराति मोटरसाइकलमा राखेर लगेको र डेरादेखि केही टाढा रगत तथा गोरीकलाका चप्पल र चुरा फेला परेकाले पनि हत्या नै भएको मृतकका बाबु कालो रोकायले बताए । छोरीको बलात्कारपछि हत्या भएको भन्दै पीडकलाई कडा कारवाही गर्न उनले माग गरे ।

घटनामा प्रहरीकै संलग्नता देखिएको र घटनालाई कमजोर बनाउन दुर्घटनाको भ्रम फैलाइएको उनको भनाइ छ । पीडितका आफन्तले पोस्टमार्टममा भएको ढिलाइले पनि घटनालाई कमजोर बनाउने प्रयास भएको गुनासो गरेका छन् । मंगलबार दिउँसो नै वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल पु¥याइएको भए पनि पोस्टमार्टम हुन सकेको छैन ।

गोरीकलाका आफन्तले बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारवाही माग गरिरहेका छन् । एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘किशोरीको हत्या भएको देखिन्छ, बाहिर हत्या गरेर नै कोठामा छोडेको पाइयो ।’ घटनाको अनुसन्धान भइरहको र दोषीलाई कानुनी कारवाही हुने प्रहरीले जनाएको छ । सूर्यप्रकाश मावि, पलैटेकी छात्रा रोकायले विद्याज्योति मावि बाबियाचारैबाट एसईई परीक्षा दिइरहेकी थिइन् । दोषीलाई कडा कारवाही माग गर्दै महिला अधिकारकर्मीले स्थानीय प्रशासन र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।