काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणले मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो चीन भ्रमणका बारेमा जानकारी दिदै प्रधानमन्त्री ओलीले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने बताएका हुन् । उनले एससिओ शिखर सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने उल्लेख गरे ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट हुने कार्यक्रम रहेको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरि आफ्नो नेतृत्वमा जाने प्रतिनिधिमण्डलले काम गर्ने धारणा राखे ।
त्यस्तै प्रधानमन्त्री ओलीले पर्सामा हैजा नियन्त्रणका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए । वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क औषधी उपलव्ध गराइएको उल्लेख गरे ।
अहिलेसम्म ६ सय २४ जनामा हैजा संक्रमण देखिएको, ४३७ जना निको भइसकेको र १८७ वटा सक्रिय केश रहेको उनले बताए । वीरगञ्जमा हैजाका कारण ३ जनाको मृत्यु भएको छ ।



























































